स्कटल्यान्डलाई उपाधि, नेपाल दोस्रो स्थानमा
काठमाडौं। तीनदेशीय ट्वान्टी-२० शृंखलाको उपाधि स्कटल्यान्डले जितेको छ। शुक्रबार नेपाललाई ३४ रनले हराउँदै उसले उपाधि जितेको हो।
स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८.५ ओभर खेलेर १ सय ५९ रनमा अलआउट भयो।
डबल राउन्ड रोबिनमा आयोजित प्रतियोगितामा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ खेलमा जित र २ मा पराजय भोगेका थिए। नेट रनरेटमा स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै विजेता बनेको हो।
नेपालका रुपेश सिंह ४३ रन बनाई अविजित रहे। उनले २२ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ३४ रनमा आउट भए। उनले ३३ बलमा १–१ चौका र छक्का प्रहार गरे।
कुशल भूर्तेल ४, भीम सार्की १२, आसिफ शेख १४, आरिफ शेख र लोकेश बम समान ५ रनमा आउट भए। कप्तान रोहित पौडेलले २० बलमा ४ चौकासहित २७ रन बनाए। सन्दीप लामिछाने शून्य, रिजन ढकाल ५ र ललित राजवंशी १ रनमा आउट भए। स्कटल्यान्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन खर्चेर ३ र साफ्यान सरिफले २ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले ५ विकेट गुमाई १ सय ९३ रन बनाएको थियो। जर्ज मुन्सी र ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै दोस्रो विकेटमा १ सय रनको साझेदारी गरे।
ओपनर मुन्सीले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गरी ७८ र म्याकमुलेनले ३० बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए। कप्तान रिची बेरिङटन ९, फिन्ले म्याकक्रिथ १ रनमा आउट भए। म्याथ्यु क्रस १३ बलमा २ चौका प्रहार गर्दै १७ र माइकल लिस्क १७ बलमा १ चौका र २ छक्का प्रहार गरी २६ रनमा अविजित रहे।
यसअघि नेपालले प्रतियोगिताको पहिलो तीन खेलमा दुईटामा विजय हात पारेको थियो।
