प्रदेश खारेज गर्न धुलिखेल नगरसभाको माग

काठमाडौं। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले प्रदेश सभा खारेजीको माग गरेको छ। नगरसभामा प्रदेश सभा खारेजीको माग गर्दै संघीय सरकारलाई पत्राचार गर्ने सर्वसम्मत निर्णय गरिएको छ।

धुलिखेल नगरपालिकाको १७औं नगरसभामा सदस्य तथा वडा २ का अध्यक्ष अर्जुन न्यौपानेले प्रदेश सभाले प्रभावकारी भूमिका निर्वाह नगरेको र बजेट वितरणमा असमानता रहेको भन्दै विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। सभाले त्यसलाई पारित गरेको हो।

न्यौपानेले प्रस्तुत गरेको विशेष प्रस्तावमा प्रदेश सरकारको उपस्थिति प्रभावकारी नभएको र बजेट वितरणमा विभेद भएको कारण जनताको अपेक्षालाई पूरा गर्न नसकेको दाबी गरिएको छ।

नगर प्रमुख अशोककुमार ब्याञ्जुले उक्त प्रस्तावलाई समर्थन गर्दै यो निर्णय लोकतान्त्रिक प्रक्रियाको अंग भएको बताए। कुनै पनि सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थामा त्यसको विरोध गर्ने अधिकार जनप्रतिनिधिहरूलाई रहेको उनको भनाइ छ।

ब्याञ्जुका अनुसार नगर सभाले प्रदेश खारेजीको प्रस्तावसहित अन्य २७ वटा निर्णय पनि गरेको छ। नगर सभाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि १ अर्ब १८ करोड ४८ लाख ५० हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *