नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो

काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई शृंखला अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ। शृंखलामा नेदरल्याण्ड्सँग नेपालको यो दोस्रो खेल हो।

स्कटल्याण्डको ग्लास्गोमा बिहीबार राति भएको खेलमा ओपनर कुशल भूर्तेल र आरिफ शेखको प्रभावशाली प्रदर्शन गरे। नेदरल्यान्ड्ससँग अघिल्लो खेलमा तीन सुपर ओभरसम्म खेलेर नेपाल पराजित भएको थियो। नेपालले १ सय ७५ रनको लक्ष्यलाई दुई बलअगाडि पूरा गर्यो।

१९ औं ओभरको अन्तिम बलमा आरिफ शेखको स्थानमा आएका लोकेश बमले अन्तिम ओभरमा दुई छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। ज्याच लायनको पहिलो बलमा छक्का हानेका लोकेशले दुई बल डट खेले र चौथो बलमा फेरि छक्का प्रहार गरे।

आरिफले २३ बलमा ३९ रन बनाए भने ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि १६ औं ओभरमा आउट भएका कुशलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाएका थिए।

यस्तै, भीम सार्कीले २७ रन जोडे। उनले १६ बलमा दुई चौका र एक छक्का हान्दै डेब्युलाई स्मरणीय बनाए। ओपनर आरिफ शेख ७, कप्तान रोहित पौडेल ६ रनमा गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित १६ रन बनाए।

नेपालले टस जितेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले ओपनर माइकल लेभिटको सानदार अर्धशतकमा १ सय ७४ रन बनाएको थियो। ७ विकेट गुमाएको डच टोलीका लागि लेभिटले ८६ रन बनाए। करण केसीको बलमा कप्तान रोहितबाट छैटौं विकेटका रूपमा क्याचआउट हुनुअघि लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

४५ रनमै ४ विकेट गुमाएको नेदरल्यान्ड्सका लागि रोइलोफ भान डेर मर्बीले अविजित ३६ रन बनाए। उनले २१ बलमा ४ चौका र एक छक्का हाने। उनीसँगै आर्यन दत्त अविजित रहे। आर्यनले १७ रन जोड्दा १ चौका र १ छक्का प्रहार गरे। सफिब जुल्फिकरले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि करणले २, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १–१ विकेट लिएका थिए। पहिलो ओभरको पाँचौं बलमा विक्रमजित सिंहलाई दीपेन्द्रबाट क्याचआउट गराएर ललितले विकेट लिन सुरुआत गरेका थिए।

ट्वान्टी-२० शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर खेल गुमाएको नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। डच टिमले बुधबार स्कटल्यान्डविरुद्धको खेल १७ रनले जितेको थियो। स्कटल्यान्डले आफ्नो पहिलो खेल नेदरल्यान्ड्समाथि ३९ रनको जित पाएको थियो। नेपालले अब शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *