‘मिस्टर महानगर’ छान्न शारीरिक सुगठन प्रतियोगिता

काठमाडौं। काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा हुने प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ।

प्रतियोगिता असार ६ र ७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ। प्रतियोगितामा कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ईश्वर श्रेष्ठले जानकारी दिए।

प्रत्येक तौल समूहको विजेता मिस्टर महानगरको ‘ओभर अल’ प्रतिस्पर्धाका लागि छनोट हुनेछन्। त्यसका विजेतालाई मिस्टर महानगरको उपाधिसहित नगद ५ लाख, ट्रफी र ब्यानेट दिइने छ।

प्रत्येक तौल समूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ। चौथो हुनेले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पाउने छन्।

आयोजकका अनुसार असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुने छ। पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिस्पर्धा हुने भएको छ।

आगामी संस्करणमा महिलाको पनि प्रतिस्पर्धा गराउने आयोजक वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *