स्रोत नखुल्ने अकुत सम्पत्ति : गोल्डेन गेट कलेजका सञ्चालक सिलवालविरुद्ध मुद्दा
काठमाडौं। स्रोत खुल्न नसक्ने अकुत सम्पत्ति कमाएको आरोपमा ‘गोल्डेन गेट कलेज’ का सञ्चालक रमेश सिलवालविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको छ।
सिलवालले कलेज सुरू भएको १६ वर्षमा ४०० करोड रुपैयाँ बराबरको आयआर्जन गरेको भन्दै सम्पत्ति विभागमा गत जेठ ८ गते उजुरी परेको हो। उनी धादिङको बेनीघाट-९ का मूल बासिन्दा हुन्।
त्रिचन्द कलेजमा सामान्य प्राध्यापन पेशामा रहेका सिलवालले गोल्डेन गेट एजुकेसन नेटवर्कमा १७ प्रतिशत शेयर मात्र लगानी गरेको उजुरीमा उल्लेख छ। पछिल्लो समय उनले ६० प्रतिशत पुर्याएको देखिएको जनाइएको छ।
कुनै थप लगानी बिना निजको शेयर लगभग दोब्बर कसरी भयो र लगानीको स्रोत के हो भन्ने विषय पनि गम्भीर खोजीको विषय बनेको उजुरीमा उल्लेख छ।
उक्त कलेज र यसको नेटवर्कबाट आउने सम्पूर्ण आम्दानीको दुरुपयोग गरी अध्यक्ष सिलवालले एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, कसमस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, प्राइम कमर्शियल बैंक, कालिन्चोक केवलकार प्रालि, सानिमा जनरल इन्स्योरेन्स, माया खोला हाइड्रो प्रालि लगायतका दर्जनौं कम्पनीमा लगानी गरेको उजुरीमा उल्लेख गरिएको छ ।
यसैगरी, राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा रहँदा दोहोरो सेवा सुविधा लिएको आरोप पनि सिलवालमाथि छ। होटेल म्यानेजमेन्टतर्फ स्नातक तह (बिएचएम) मा अध्ययनरत विद्यार्थीहरूसँग विदेशमा इन्टर्नसिप गराउने बहानामा अवैध रूपमा प्रतिविद्यार्थी १ लाख ३० हजार रुपैयाँ असुल गरेको आरोप पनि उनलाई लगाइएको छ ।
राज्यलाई तिर्नुपर्ने कर छली गरेको र कलेजको नाममा किनिएको ४८ आना जग्गा कित्ताकाट गरी विभिन्न व्यक्तिलाई बिक्री गरेको निवेदनमा दाबी गरिएको छ। कलेजको हिसाबकिताब गोप्य राख्न सफ्टवेयरमा हेरफेर गरेको आरोप पनि सिलवालमाथि छ।
