३ लाख धरौटी बुझाएर छुटे रविन्द्र मिश्र
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर मंगलबार छुटेका छन्। उनकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेपछि उनी छुटेका हुन्।
काठमाडौंको तीनकुने चैत १५ गते भएको घटनामा मिश्र पनि प्रतिवादी बनाइएका थिए। उनी मंगलबारै बिहान अदालतमा उपस्थित भएका थिए । त्यसपछि बयान र थुनछेक बहस गरिएको थियो ।
न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भीमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए।
बहसपछि अदालतबाट तीन लाख धरौटीमा छाड्न आदेश भएको हो। मिश्रविरुद्ध तीनकुने घटनाको प्रतिवादीका रुपमा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दावी गरिएको थियो।
यसैगरी, सोही मुद्दामा राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि अदालतले सोमबार ३ लाख धरौटीमा रिहा गरेको थियो।
