झापाको बिर्तामोडमा एक जनामा कोरोना संक्रमण पुष्टि
प्रतीकात्मक तस्बिर
झापा। झापाको बिर्तामोडमा एक जनामा कोरोना भाइरस संक्रमण पाइएको छ। बिर्तामोड नगरपालिका–५ की ५२ वर्षीया महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ।
मिल्दोजुल्दो लक्षण देखिएपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गरिएको ‘एन्टिजेन’ परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ‘महामारी फोकल पर्सन’ युवनाथ बरालले बताए।
संक्रमण पुष्टि भएपछि ती महिला अरुभन्दा अगल्लै ‘आइसोलेसन’ मा बसिरहेकी छन्। बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले पालिकाकी एक महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए।
ती महिला स्थानीय भएको र हालैका दिनमा अन्यत्र कतै आउजाउ नगरेको जनाइएको छ। उनमा कसरी संक्रमण भयो भन्ने सोधखोज र परीक्षणको काम भइरहेको जनाइएको छ ।
‘सामान्य रुघाखोकी लागेर अस्पताल पुगेपछि कोभिड परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
भारतका विभिन्न सहरमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। यो अवस्थामा सीमावर्ती नेपालका सहरहरुमा पनि सजगता अपनाउनुपर्ने विज्ञहरुले बताएका छन्। सीमा नाकाहरुमा निगरानी बढाउनुपर्ने र नागरिकले स्वास्थ्य सरसफाईमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ।
