‘गृहमन्त्रीको नेतृत्वमा मानव तस्करी’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले गृहमन्त्रीकै नेतृत्वमा मानव तस्करी भइरहेको आरोप लगाएका छन्।

अध्यागमन विभागमार्फत् भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको उनको आरोप छ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद झाले यस्तो आरोप लगाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक अध्यागमनमा भइरहेको बदमासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता गरेको उनको भनाइ थियो।

‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ ध्यान देऊ भनेर ९–९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो?’ उनले प्रश्न गरे, ‘जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो?’

गृहमन्त्रालय र मन्त्रीको संलग्नता नभएको वा जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानिएको हो भन्ने प्रश्न पनि सांसद झाले गरेका थिए।

आफ्नो संलग्नता लुकाउनको लागि गृह मन्त्रालयले अनुसन्धानमै रहेका कर्मचारीको जिल्ला सरुवा गरेको समेत आरोप उनले लगाए। अध्यागमनको अनियमितता केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गर्दै उनले छानबिन समिति गठनको माग गरे ।

‘यथेष्ट प्रमाणहरू आइसके। यो सबै तपाईंको नेतृत्वमा भएको लुटतन्त्र हो। यो हाम्रो मात्र आवाज हैन। सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रैछ,’ सांसद झाले भने, ‘त्यसकारण यसको छानबिन गर्नको लागिसमिति र ठगिएकाहरुले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *