१६ जनामा कोरोना संक्रमण : घातक छैन तर सावधानी जरूरी
काठमाडौं। नेपालमा पनि कोरोना संक्रमित भएका १६ जना भेटिएसँगै सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। भारतमा संक्रमित बढिरहेको अवस्थामा यहाँ पनि सावधानी अपनाउनु पर्ने जनाइएको छ।
हाल नेपालमा पनि देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट अघिल्लाजस्तो घातक नभए पनि सुरक्षा सावधानी भने अपनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्ने सम्भावना कम भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्न र सतर्कता अपनाउनु आवश्यक हुन्छ।
भारतमा सोमबार बिहानसम्म कोभिडका कारण ६५ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतभर करिब ७ हजार जना संक्रमित भएको जनाइएको छ। संक्रमण नियन्त्रणमा त्यहाँका निकायहरु सक्रिय भएका छन्।
नेपालमा पनि संक्रमण फैलन नदिन सावधानी अपनाउनु पर्नेमा महाशखाका विज्ञहरुले जोड दिएका छन्। सीमा नाका हुँदै भारतबाट आउनेहरुमा संक्रमण देखिने क्रम बढेकाले नेपालपट्टि सावधानी अपनाउन थालिएको छ।
पूर्वको काँकडभिट्टा, विराटनगरसहित सुनसरी, सप्तरी हुँदै पश्चिमसम्मका नाकाहरुमा निगरानी भइरहेको सरकारले जनाएको छ।
