नेपालको तेस्रो जित, नेदरल्यान्डस् १६ रनले पराजित
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ। स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा मंगलबार राति सकिएको खेलमा नेपाल विजयी बनेको हो।
नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर २ बलमा २ सय २० रन बनाउँदा अलआउट भयो। नेदरल्यान्ड्सका वेस्ले बरेसीले सबैभन्दा धेरै ३६ रन बनाए। नेपालका नन्दन यादव र सन्दीप लामिछानेले ३र३ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो। नेपालका आरिफ शेखले ८४ रन बनाए। नेदरल्यान्ड्सका पउल भान मीकेरेनले ४ विकेट लिए।
योसँगै नेपालले लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो चौथौ चरणमा ४ मध्ये ३ खेल जितेको छ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो।
नेपाल १६ खेलमा १२ अङ्क जोड्दै सातौं स्थानमा छ।नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड तेस्रो स्थानमा छ। शीर्ष स्थानमा अमेरिका छ।
अब नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच आउँदो आइतवारदेखि टी–२० अन्तर्राष्ट्रिय शृङ्खला शुरू हुनेछ।
