प्रधानमन्त्री ओली सामुदायिक अस्पताल उद्घाटन गर्न विराटनगर आउँदै

विराटनगर। मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा बनाइएको २ सय बेड क्षमताको अस्पताल आज शनिबार उद्घाटन गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गर्ने तय भएको छ।

प्रधानमन्त्री ओली दिउँसो १ बजे नेपाली सेनाको हेलिकप्टरमा आउनेछन्। अस्पताल उद्घाटनपछि आजै दिउँसो ३ बजे उनी फर्कने कार्यक्रम छ।

जीवन विकास समाजको अगुवाइमा २ अर्ब लागतमा ‘जीवन विकास सामुदायिक अस्पताल’ बनाइएको हो।

सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए।

स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको उनको भनाइ छ।

२०५४ सालमा ‘गरिबीरहित नेपाल’ को परिकल्पनासहित स्थापना भएको समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनाको क्षेत्रमा काम गर्दै आएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *