सर्जक गणेश रसिकलाई दिइयो अन्तिम श्रद्धाञ्जली

काठमाडौं। अग्रज सर्जक गणेश रसिकलाई सोमबार विभिन्न क्षेत्रका प्रतिनिधिले अन्तिम श्रद्धाञ्जली दिएका छन्। आइतबार निधन भएका उनको पार्थिक शरीर आज बिहान ९ बजेदेखि पशुपति आर्यघाटमा राखिएको थियो।

आर्यघाटमै उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको हो। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संगीतकार शम्भुजित बास्कोटा, सूर्य थुलुङ, लक्ष्मण शेष, अमर कार्की, संगीतकार संघका अध्यक्ष अष्ट लामा लगायत अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका थिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले उनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए। संगीतकार संघका तर्फबाट कलाकारहरुले उनको चर्चित गीत ‘यो नेपाली ठिटो’ गाएर श्रद्धाञ्जली दिएका थिए।

रसिकको पार्थिव शरीरलाई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरी अस्तु जन्मथलो भोजपुरको छिनामखुमा लगेर विसर्जन गरिने जनाइएको छ।

५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित रसिकको ७८ वर्षको उमेरमा आइतबार ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो।

रसिकको जन्म भोजपुरको छिनामाखुमा २००४ असोज ४ गते भएको हो। ५० को दशकमा इलामको फिक्कल सरेका उनी पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा सक्रिय भएका थिए। उनले गायक, कवि, गीतकार, संगीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा पनि लोकप्रियता पाएका छन्।

‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ जस्ता रसिकका गीत निकै चर्चित् छन्।

रसिकका ‘दशगजामा उभिएर हेर्दा’, ‘क्षितिजलाई छुन खोज्दा’ ‘एउटा सारंगी छुन खोज्दा’ ‘रसिकका गीतहरु’ ‘आकाशगंगाको ओतमुनि’ ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ ‘बिलाउँदै गएका गीत’ लगायत कृति प्रकाशित छन्।

रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक समेत भएका रसिक पछि सांस्कृतिक संस्थानको महाप्रबन्धक बनेका थिए। यसैगरी, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएर पनि उनले जिम्मेवारी निर्वाह गरेका थिए।

गणेश रसिकको निधन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *