‘कन्याम-पञ्चकन्या खानेपानी योजना चाँडै नसके ठेक्का रद्द’

इलाम। इलामको कन्याम-पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाँडो नसके ठेक्का सम्झौता रद्द गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालासँग अन्तरक्रियामा सहभागी भएका मन्त्री यादवले यस्तो बताएका हुन्।

कन्याम–पञ्चकन्या खानेपानी योजनाको ७७ प्रतिशत काम भएको आफूले जानकारी पाएकाले बाँकी रहेको काम तत्काल सक्न सम्बन्धित निर्माण व्यवसायीलाई मन्त्री यादवले आग्रह गरे।

‘योजनाको समस्या समाधानका लागि म यहाँ आएको छु। समस्या समाधानको बाटो निकाल्नु पर्छ’ उनले भने, ‘कि ठेकेदारले काम गर्नु पर्छ, या अब ठेक्का रद्द गर्नुपर्छ।’

निर्माण व्यवसायीहरूले विभिन्न बहाना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो धेरै आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने मन्त्री यादवले बताए। ‘अब सहेर बसिँदैन, काम नगरे ठेक्का रद्द गर्छौं’ उनले भने।

कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ र स्थानीय बासिन्दाको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *