सोमबार ‘उपत्यका बन्द’ गर्ने राजावादीको घोषणा

काठमाडौं। राजावादी पार्टीहरुले सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक सिंह लगायत पक्राउ परेपछि उनीहरुले बन्द घोषणा गरेका हुन्।

संयुक्त जनआन्दोलन समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा नेताहरु थापा, सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।

पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न समेत संयुक्त जनआन्दोलन समितिले सरकारसँग माग गरेको छ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ। यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ। उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,’ नवराज सुवेदी नेतृत्वको समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राजावादी समूहले काठमाडौंको नारायण चौर क्षेत्रमा प्रदर्शन गरेका थिए। त्यस क्रममा बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता, कार्यकर्ता पक्राउ परेका थिए। प्रहरीले भने निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा रोकिएको जनाएको छ।

राजसंस्था र हिन्दु राज्यको माग गर्दै गत बिहीबारदेखि उनीहरुले काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत हुँदै आएको छ। प्रहरीले बल प्रयोग गरी दमन गरेको भन्दै राजावादीले आफ्ना कतिपय कार्यकर्ता घाइते भएको जनाएको छ।

यस्तो छ विज्ञप्ति-
आजको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले गरेको बर्बर दमनको हामी घोर भत्सर्ना गर्दछौं । शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्‍यो त्यसको हामी निन्दा गर्दछौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य मा. दिपक सिंहलाई संसदीय मर्यादा विपरित प्रहरीले हिरासतमा लिएबाट यो सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ रहेको प्रमाणित भएको छ ।

संविधानप्रदत्त अधिकार उपयोग गर्ने क्रममा प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, मा. दिपक सिंह लगायत हाम्रा सबै आन्दोलनकारी सहयोद्धाहरुलाई तत्काल रिहा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।

सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु ।

प्रहरी दमनको क्रममा घाइते भएका सबै मित्रहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
 
नवराज सुवेदी
संयोजक
संयुक्त जनआन्दोलन समिति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *