तापक्रम बढेको बढ्यै
काठमाडौं। आउँदा वर्षहरूमा तापक्रम अझ बढ्ने भएको छ। आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम १.९ डिग्री सेल्सियसम्म बढ्ने अनुमान छ। यो अनुमान ५० वर्षको औसत तापक्रमको तुलनामा गरिएको वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसन (डब्लुएमओ) ले जनाएको छ।
उक्त संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ देखि २०२९ सम्मको अवधिमा हालसम्मको सबैभन्दा तातो वर्ष २०२४ लाई पनि पार गर्ने सम्भावना छ। त्यसअनुसार हालको तातो अवस्थालाई पार गर्ने ८० प्रतिशत सम्भावना रहेको जनाइएको छ।
पाँच वर्षको औसत तापमान १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत औंल्याइएको छ। यो गत वर्ष अनुमानभन्दा २६ प्रतिशतले बढी हो। तथ्यांकअनुसार हरेक वर्ष विश्वको औसत तापक्रम बढ्दै गएको देखिन्छ।
तापक्रम बढ्दै जाँदा तातो लहर चल्ने, अत्यधिक वर्षा हुने, गम्भीर खडेरी, हिमालय क्षेत्रमा असर, समुद्री सतह वृद्धि जस्ता घटना बढ्ने विज्ञहरुको भनाइ छ। बदलिँदै गएको मौसमी घटनाले अमेजन क्षेत्रमा थप खडेरी हुने र दक्षिण एसिया तथा उत्तरी युरोपमा वर्षा वृद्धि हुन सक्ने सम्भावना रहेको डब्लुएमओले जनाएको छ।
उक्त प्रतिवेदन अनुसार २०२५/२०२९ को अवधिमा मे महिनादेखि सेप्टेम्बरसम्म औसतभन्दा बढी वर्षा हुनो सम्भावना छ। साहेल, उत्तरी युरोप, अलास्का र उत्तर साइबेरियामा औसतभन्दा बढी वर्षाको सम्भावना औंल्याइएको छ।
दक्षिण एसियाली देशमा केही वर्षयता औसतभन्दा बढी वर्षा हुँदै आएको छ। यो वर्ष पनि त्यस्तै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
डब्लुएमओले अझै पनि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिने जनाएको छ। त्यसका लागि जीवाश्म इन्धनको प्रयोगमा कटौती, नवीकरणीय ऊर्जा प्रवर्द्धन र जलवायु अनुकूलन कार्यक्रममा लगानीमा जोड दिनुपर्ने जनाइएको छ।
