धनकुटाको अस्पताल मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिने
फाइल तस्बिर
विराटनगर। धनकुटाको जिल्ला अस्पताल मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिने भएको छ। मोरङको बूढीगंगामा रहेको उक्त विश्वविद्यालयलाई अस्पताल हस्तान्तरण गरिने भएको हो।
कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हस्तान्तरणको निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले सरकारले नीतिगत निर्णय गरेसँगै हस्तान्तरण प्रक्रिया सुरू भएको बताए।
मनमोहन कोशी प्रदेश सरकारको मातहतमा रहेको एउटा मात्रै विश्वविद्यालय हो। चिकित्साशास्त्रसँग सम्बद्ध विषयको पढाइका लागि अस्पताल बनाइदिन वा कुनै अस्पताल हस्तान्तरण गर्न माग गर्दै आएको थियो । त्यसैअनुसार धनकुटा जिल्ला अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय सरकारले लिएको हो।
विश्वविद्यालयले बिएस्सी नर्सिङ, अप्टोमेट्री, ल्याबरोटरी टेक्नोलोजी, रेडियोलोजी तथा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अस्पताल अनिवार्य भएको बताउँदै आएको थियो। मन्त्रिपरिषद् बैठकले खोटाङ जिल्ला अस्पतालको हालको १५ शय्यालाई बढाएर ५० शय्यामा विस्तार गर्ने निर्णयसमेत लिएको छ।
