तीन पुस्ताले एकसाथ सार्वजनिक गरे सुमनको ‘अभ्युदय’

काठमाडौं। कवि, गीतकार एवं नियात्राकार सुमन थापा ‘सङ्गम’ को नवीनतम कविता सङ्ग्रह ‘अभ्युदय’ पाठकमाझ आएको छ। आज शुक्रबार साँझ ग्रीनलिफ रेस्टुरेन्ट पुतलीसडकमा उक्त कृति सार्वजनिक गरिएको हो।

विमोचन नयाँ शैलीमा गरिएको थियो। कवि सङ्गमका ८४ वर्षीय पिता विष्णुवीर थापा, तीन छोरीहरू समीक्षा केसी, प्रशंसा केसी, क्रिशला केसी, नातिनातिनाहरू, आरुण्या केसी, आयाङ्श केसी, आव्यान्या केसी र कवि स्वयंबाट लोकार्पण गरिएको थियो।

दर्शकदीर्घा अघिल्तिर कवि स्वयं उभिएर कुनै तामझाम बिना कार्यक्रम सञ्चालन गरेकी थिइन्। कविकी छोरी समीक्षा केसीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन्।

कवि रमी प्रियाले सङ्ग्रहमा रहेको एउटा कविता वाचन गरेकी थिइन्। यसैगरी, कवि विश्व सिग्देलले सङ्ग्रहकै ‘अजम्बरी फूल’ कविता वाचन गरेका थिए। कवि श्रीबाबु कार्कीले सङ्ग्रहमै रहेको ‘घाम ओढेर हिँडेपछि’ू वाचन गरेका थिए भने कवि प्रोल्लास सिन्धुलीयले ‘हृदय दुखेको बखत’ सुनाएका थिए।

कार्यक्रम समापनमा कवि सुमनले दर्शकदीर्घाबाट सुभाषचन्द्र पौडेलद्वारा अनुरोध गरेको कविता ‘वालुवामा लेखिएको नाम’ र ‘बृहत कथामा आमा’ कविता वाचन गरेकी थिइन्।

कृतिबारे समीक्षा गर्दै डा. शेखरकुमार श्रेष्ठले कृति कसरी जन्म भयो, त्यसको पृष्ठभूमि, कविको परिचय र सरल विम्बात्मक कविताको समीक्षा प्रस्तुत गरेका थिए।

विमोचन कार्यक्रममा अहिलेका प्रसिद्ध ४५ भन्दा बढी सर्जकहरुको उपस्थिति थियो। कवि थापाको यसअघि ‘माइतीघरको फूल’ कविता कृति प्रकाशित भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *