दाहसंस्कार गर्न लागिएको बालिकाको शवसहित अभिभावक नियन्त्रणमा

विराटनगर। संखुवासभामा दाहसंस्कार गर्न लागिएको बेला बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। भोटखोला गाउँपालिका–४ की ६ वर्षीया युनिका तामाङको शव प्रहरीले नियन्त्रणमा लिएको हो। उनका अभिभावकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्स्पेक्टर अभिषेक श्रेष्ठका अनुसार बालिकाका बुवा गोपाल तामाङ र काकी कल्पना तामाङलाई नियन्त्रणमा लिइएको हो। शव जिल्ला अस्पताल खाँदबारीको शवगृहमा राखिएको छ।

प्रहरीका अनुसार गत वैशाख ३० गते गोपाल र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडा भएको थियो। त्यस क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलिदिएकी थिइन्।

लडेर घाइते भएकी युनिकालाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो।

मृत्यु भएपछि अभिभावकले शव दाहसंस्कारका लागि घरतिर लिएर जाँदै थिए। त्यही क्रममा प्रहरीले शवसहित बालिकाका बुवा र काकीलाई नियन्त्रणमा लिएको हो। दुवै जनामाथि सोधपुछ गरिरहेको प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *