पूर्वराजा र राजसंस्था पक्षधर नेताहरूबीच भेट
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधर चार जना नेताहरूसँग आज बिहीबार काठमाडौंको सोल्टी होटलमा भेटेका छन्। उनीहरुसँग ‘लञ्च मिटिङ’ गर्दै भेटघाट भएको जनाइएको छ।
पूर्वराजा शाहसँग भेट्नेमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर बिष्ट छन्।
पूर्वराजा निकट स्रोतका अनुसार पूर्वराजा शाहले बिहीबार मध्याह्न करिब १ घण्टा उनीहरुसँग कुराकानी गरेका थिए।
राजसंस्था पक्षधरहरूले जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन्। यो सन्दर्भमा आजको भेटलाई अर्थपूर्ण मानिएको छ।
यसअघि पूर्वराजा शाहले नगरकोटमा राजावादी नेताहरूसँग भेट गरेका थिए। वैशाख ५ गते उनले राप्रपाका ७ जना नेताहरूलाई ‘लञ्च’ का लागि निर्मल निवासमा बोलाएर भेटेका थिए।
राजसंस्था पक्षधरहरूले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राख्दै आन्दोलन गर्न लागेका हुन्।
