उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान गर्ने भएको छ। नगरपालिकाले यो कार्यक्रममा सहभागी हुन नगर क्षेत्रका दम्पतीलाई सार्वजनिक रुपमा आह्वान गरेको छ।

ढुकुर चरालाई प्रेमको प्रतीक मानिने भएकोले त्यही चराको जोडीलाई सम्झाउने दम्पती छनोट गर्न कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ। परिवार र समाजमा मिलेर बसेका उत्कृष्ट दम्पतीलाई सम्मानका लागि सुन्दरहरैँचाले ढुकुर जोडीको खोजी सुरू गरेको हो।

नगरपालिकाका अनुसार १२ वटा वडाबाट उत्कृष्ट हुने ढुकुर जोडीको तस्वीर वडा कार्यालयमा एक वर्षसम्म राखिनेछ। ढुकुर जोडी छनोटका लागि नगरपालिकाले मापदण्ड बनाएको छ।

नगरपालिकाका अनुसार विवाह गरेको १० वर्ष पूरा भएको हुनुपर्ने, विवाह दर्ता, स्थायी बासिन्दा, छोराछोरीका जन्मदर्ता, उमेर पुगेको भए छोराछोरीको नागरिकता बनाएको, बुवा–आमा वा सासू–ससुरासँग बसेको र उनीहरूलाई राम्रो हेरचाह गरेको हुनुपर्ने हुनुपर्ने सर्त छ।

यसैग्री, अदालत, प्रहरी चौकी, न्यायिक समिति लगायत निकायमा श्रीमान–श्रीमतीको झगडा परी निवेदन दर्ता नभएको हुनुपर्ने, नेपालमै बसेको र विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा दुई वर्षभन्दा बढी नबसेका दम्पतीले दरखास्त दिन सक्ने नगरपालिकाले जनाएको छ ।

यो कार्यक्रमले समाजमा सुखद दाम्पत्य जीवनको महत्वलाई उजागर गर्नुका साथै सम्बन्ध विच्छेद र लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्ने विश्वास लिइएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *