फेरि बढ्दै कोभिड-१९ संक्रमण, सावधानी अपनाउन सुझाव
काठमाडौं। केही वर्षअघि विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ भाइरसको संक्रमण फेरि देखिन लागेको छ। यसले महामारी पूर्ण रुपमा सकिएको नभइ नियन्त्रण भएको तर सुस्त रुपमा रहेको मानिएको छ।
भारत, हङकङ र सिङ्गापुर जस्ता एसियाली मुलुकहरूमा यसबाट संक्रमित हुनेको संख्या बढिरहेको पाइएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार २०२५ मे १२ यता भारतमा १६४ जना नयाँ संक्रमित भेटिएका छन्।सबैभन्दा धेरै संक्रमित केरला, महाराष्ट्र र तमिलनाडुमा पाइएका छन्।
महाराष्ट्रमा दुईजनाको मृत्यु भएको सार्वजनिक भए पनि कोभिड संक्रमण नभइ अरू कारणबाट भएको मृत्यु भएको हुन सक्ने चिकित्सकहरूले बताएका छन्। दुबै मृतकको परीक्षण रिपोर्टमा भने कोभिड पोजिटिभ देखिएको जनाइएको छ।
हङकङको स्वास्थ्य सुरक्षा केन्द्रका अनुसार त्यहाँ हाल संक्रमण बढिरहेको छ। अप्रिल २७ देखि मे ३ सम्म त्यहाँ अनुमानित संक्रमित संख्या १४ हजार २०० पुगेको छ। सिङ्गापुरमा पनि संक्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोभिड-१९ भाइरसको निरन्तर उत्परिवर्तन (म्युटेसन) भइरहेकाले संक्रमण बढेको जनाइएको छ। ‘जेएन.वन’ नामक भेरिएन्टबारे विश्व स्वास्थ्य संगठनले पनि सचेत गराइसकेको छ। यो भेरिएन्टको सङ्क्रमण पहिलेको भन्दा अलि कम फैलन सक्ने उल्लेख गरिएको छ।
भारतमा पनि संक्रमण बढिरहेको अवस्थामा नेपालमा भित्रन र फैलन सक्ने जोखिम देखिएको छ। खुला सीमाका कारण दुवैतिर आउजाउ बाक्नै हुने गरेको छ। त्यसैले बेलैमा सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन्।
