बसको ठक्करले बालिकाको मृत्युपछि तनाव
विराटनगर। मोरङको रंगेलीमा बसको ठक्करले सोमबार दिउँसो बालिकाको मृत्यु भएको छ।
घटनापछि आक्रोसित आफन्त र स्थानीयले बसमा तोडफोड गरेका छन्। उनीहरुले ढुंगामुडा समेत गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। त्यसक्रममा उक्त क्षेत्र केही बेर तनावग्रस्त बनेको थियो।
रंगेली नगरपालिका-७ निचामारी चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बालिकाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले ठक्कर दिँदा रंगेली–७ की १३ वर्षीया मीरा मण्डलको मृत्यु भएको हो
गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको हो। बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
