ती मदन भण्डारी (ऐतिहासिक १५ तस्बिरमा)
‘महाराज, आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबक्सियोस्, राजनीति गर्ने रहर छ भने श्रीपेच फुकालेर मैदानमा आए हुन्छ, मदन भण्डारी चुनाव लड्न तयार छ।’
शाही शासनकालमा राजाविरुद्ध सामान्य टिप्पणी गर्न पनि डराउनुपर्ने बेला। विरुद्धमा बोल्न चिताउनै नसिकने अवस्थामा मदन भण्डारीले काठमाडौंमा आयोजित एक आमसभामा निकै वर्षअघि गरेको भाषणको मुख्य र चर्चित अंश हो यो।
२०४६ को जनआन्दोलनपछि एकाएक चर्चामा आएका प्रखर वक्ता भण्डारीको अल्पायुमै निधन भयो तर तरंग ल्याउने खालका उनका अभिव्यक्तिहरु नेपाली राजनीतिमा अझै चर्चित छन्।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको दुर्घटनामा भण्डारी र अर्का नेता जीवराज आश्रितको ज्यान गएको थियो।
त्यो घटना ‘दुर्घटना’ वा ‘हत्या’ के थियो भन्ने अझैसम्म रहस्यमय नै छ। उक्त घटनामा भण्डारीसँगै बितेका नेता जीवराज आश्रित कुशल संगठक र प्रष्ट वक्ताका रुपमा लोकप्रिय थिए।
पोखरामा भएको कार्यक्रमबाट फर्कने क्रममा उनीहरु चढेको गाडी दासढुंगा भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको थियो। तीन दिनसम्मको खोजीपछि आश्रितको गाडीमै शव भेटिएको थियो भने भण्डारीको घटनास्थलभन्दा तल नारायणी नदी किनारमा भेटिएको थियो।
यो घटनाको छानबिन गर्न धेरै आयोग बने। अध्ययन भयो। तर दुर्घटना वा षडयन्त्र भन्ने खुल्न सकेको छैन। पार्टीका नेताहरुले दुर्घटना होइन हत्या हो भन्ने टिप्पणी गर्दै छानबिन गरी दोषी पत्ता लगाइछाड्ने भन्दै आएका थिए। तर पटकपटक सरकारमा गइसके पनि उनीहरुले यसबारे केही खुलस्त पार्न सकेका छैनन्।
‘सत्ताबाहिर हुँदा लोकप्रियताका लागि दोषी पत्ता लाउने भने पनि सत्तामा गएपछि सबै कुरा बिर्सन्छन्’ पार्टीपंक्तिमा अझै पनि यस्तो टिप्पणी हुने गर्छ।
ताप्लेजुङको ढुंगेसाँघुमा २००९ असार १४ गते जन्मेका भण्डारीले नेपाली राजनीतिमा छोटै समयमा बेग्लै छाप छाडेका छन्।
उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै तत्कालीन नेकपा (एमाले) बहुलबादी राजनीतिमा अघि बढ्दै आम निर्वाचन २०४८ मा सहभागी भएको थियो।
२०४६ को जनआन्दोलनमा तत्कालीन बाममोर्चाबाट सक्रिय सहभागिता जनाएका उनले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
भण्डारीको परिवार २०२४ सालमा ताप्लेजुङबाट मोरङको इटहरामा सरेको थियो। भारतको बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका भण्डारी २०२८ सालमा पुष्पलालसँगको भेटपछि राजनीतिमा लागेको राजनीतिक अभिलेखहरुमा पाइन्छ। २०३० सालमा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका थिए।
पार्टी एकीकरणपछि उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी–लेनिनवादी) को महासचिव बनेका थिए। २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनको चर्चा झनै चुलिएको थियो।
उनको विवाह २०३९ सालमा विद्या पाण्डे (पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी) सँग भएको थियो।
‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ यो पनि उनको अर्काे एउटा सदाबहार अभिव्यक्ति हो। तर नियतिले उनलाई थकाएजस्तो लाग्ने गरी अल्पायुमै संसार छाडे।
तिनै प्रखर नेता भण्डारीका जीवनका विभिन्न आरोह–अवरोह झल्कने केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ। यी तस्बिर सांस्कृतिक संग्रहालय नेपाल र मदन भण्डारी संग्रहालयले संकलन गरेर राखेका छन्।
ती संस्थाले देशका विभिन्न स्थानमा तिनै ऐतिहासिक तस्बिरहरुको प्रदर्शनी गर्दै आएका छन्। यी तस्बिर प्रदर्शनका बेला आयोजकको अनुमति लिएर खिचिएका हुन्।
ताप्लेजुङको जन्मघर, मोरङको घर, काठमाडौं र अन्य स्थानमा भएका आमसभा, पार्टी कार्यक्रम, चर्चित विदेशी नेता र राष्ट्रप्रमुखसँगको भेट, पत्नी विद्यादेवी भण्डारीसँग लिइएका, दासढुंगा घटना अनि शवयात्रा र अन्तिम संस्कारसम्मका तस्बिर यहाँ प्रस्तुत छन्।


