श्रीलङ्काको क्यान्डी : बुद्धको दाँत भएको मन्दिर

श्रीलङ्काको क्यान्डीमा रहेको ‘बुद्धको दाँत भएको मन्दिर’ (टेम्पल अफ द सेक्रेड टुथ रेलिक) अवलोकन भ्रमणका क्रममा निकै रोमाञ्चक अनुभव प्राप्त भयो। धार्मिक, आध्यात्मिक एवं पर्यटकीय महत्वको यो मन्दिर र आसपास क्षेत्रको भ्रमण साँच्चै उपलब्धिमूलक रह्यो।

यो मन्दिरको दर्शन गरिसकेपछि हामीलाई यहाँकै महाबोधी बिहार जान हतार भयो। त्यता जान उकालो लाग्नु पर्छ। हिंड्दै जाँदा खासै समय लाग्छ जस्तो दूरी छैन। पैदल यात्रा यहाँका अन्य दर्शनीय स्थल अवलोकनको उत्तम उपाय हो।

२०८१ फागुन ८ (२० फेब्रुअरी, २०२५) मा म र छोरा सार्थकले पर्यटकीय भ्रमणका क्रममा श्रीलङ्काको क्यान्डी उपत्यका विचरण गरेका हौं। त्यही बेलाको रोमाञ्चक अनुभव साझा गर्ने प्रयास यो आलेखमा गरिएको छ।

महाबोधी बिहारमा जानका लागि सुरुमा हामीले सानो सवारी साधन ‘टुकटुक’ को सहयोग लियौं र उकालो लाग्यौं। जाँदै गर्दा यस्तो उकालो पनि आयो; टुकटुकले नै ‘गौडा हार्यो’।

त्यसपछि हामी पैदलै उकालो लाग्यौं। सडक कालोपत्रे छ तर खुत्रुक्कै थकाउने खाले उकालो। करिब तीनसय मिटर जति उकालिंदा हामी पसिनापसिना भयौं।

महाबोधी बिहारमा प्रवेश टिकट चाहिने रहेछ। तर सस्तो। ‘बुद्धको दाँत भएको मन्दिर’ प्रवेश गर्न प्रतिव्यक्ति ५ हजार श्रीलङ्कन रुपैयाँ तिरेका थियौं। टिकट दस्तुर प्रतिवयस्क ३०० श्रीलङ्कन रूपैयाँ। सस्तो भएन त!

महाबोधी बिहारमा प्रवेश गर्दा जुत्ता चप्पल बाहिरै राख्नुपर्ने नियम। जुत्ता चप्पल राखनधरनको व्यवस्था राम्रै रहेछ। ‘बुद्धको दाँत भएको मन्दिर’को दाँजोमा यहाँ दर्शनार्थी, पर्यटकको भीडभाड कम।

त्यो मन्दिर पुरानो भएर पनि भीडभाड बढी भएको होला। बुद्धको ‘ अवशेष स्थल’ रहेकाले पनि भीड धेरै भएको होला। अथवा आवागमनमा केही असुविधा भएकाले पनि महाबोधी विहारमा पर्यटकहरू कमै आउने गरेका होलान्।

नेपालको लुम्बिनीका राजा सुद्धोधन र रानी मायावतीका पुत्र राजकुमार सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरेपछि ‘गौतम बुद्ध’ भनेर चिनिए। उनलाई मानवका रूपमा पृथ्वीमा जन्म लिने महान मानव मानिन्छ।

लुम्बिनीमा जन्मिएका सिद्धार्थले भारतको बोधगयामा रहेको जय श्री महाबोधी वृक्षमुनि बुद्धत्व प्राप्त गरेका हुन् भनिन्छ। यही जय श्री महाबोधी वृक्षमा आफ्नो पिठ्युँ अडेस लगाएर बसेकै बेलामा उनलाई सम्बोधी ज्ञान प्राप्त भएको थियो भन्ने गरिएको छ।

यही जय श्री महाबोधी वृक्षलाई कालान्तरमा बोधी वृक्ष भन्ने गरिएको हो। बोधगयाको यही बोधी वृक्षको दक्षिणतर्फ हाँगा श्रीलंकाको अनुराधापुरामा ल्याइएको थियो। त्यसको केहीपछि सिद्धार्थ गौतम अडेस लागेको भनिएको बोधगयाको बोधी वृक्षलाई चाहिँ सम्राट धर्मशोककी रानी थिश्यारक्खाले मासिदिइन् भन्ने अभिलेखहरुमा पाइन्छ।

कालान्तरमा त्यसको फेदबाट दुइटा बोधी वृक्षका विरुवाहरू अंकुरित त भए तर वृक्षको रूप लिन सकेनन्। वर्तमान अवस्थामा भारतको बोधगयामा जुन बोधी वृक्ष छ, त्यो सिद्धार्थ गौतम अडेस लागेको भनिएको जय श्री महाबोधी वृक्षको चौथो पुस्ता हो भन्ने गरिएको छ।

श्रीलंकाको अनुराधापुरामा ल्याएर रोपेर हुर्काइएको बोधीवृक्षको दक्षिणी हाँगा बोधगयामा सिद्धार्थ गौतम अडेस लागेर बस्दा शीतल दिएकै हाँगा हो, यसले गौतम बुद्धको पवित्र स्पर्श पाएको छ र यो संसारमा जय श्री महाबोधी वृक्षको एकमात्र पवित्र जीवित अवशेष हो भन्ने गरिन्छ र यसको एक हफ्तासम्म ‘अनिमिसालोचना पूजा’ गरिन्छ।

‘अनिमिसालोचना पूजा’ भनेको सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दा छायाँ वा शीतल प्रदान गरिदिए वापत जय श्री महाबोधी वृक्षप्रति कृतज्ञता प्रकट गरेको घटनाबाट प्रारम्भ भएको परम्परा हो।

भनिन्छ, सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछिको दोस्रो हप्ता त्यही जय श्री महाबोधी वृक्षमुनि बिताएका थिए। त्यो एक हफ्ता गौतम बुद्धले जय श्री महाबोधी वृक्षको त्यस दक्षिणी हाँगालाई छायाँ वा शीतल प्रदान गरेबापत आँखा पनि नझिम्याई एक टकले हेरेर कृतज्ञता प्रकट गरेका थिए। त्यही घटनाबाट प्रारम्भ भएको मानिन्छ ‘अनिमिसालोचना पूजा’ को परम्परा।

अनुराधापुरामा जय श्री महाबोधी वृक्षको जीवित अवशेषका रूपमा रहेको बोधी वृक्षलाई जसले पनि दर्शन गर्न र पूजा गर्न सक्दछन् भन्ने गरिन्छ।

गौतम बुद्धको अवशेषको रूपमा रहेको अस्तुको आधारमा निर्मित ‘बुद्धको दाँत भएको मन्दिर’ क्यान्डीमा स्थापना भएपछि बुद्धत्व प्राप्त गर्दा शीतल प्रदान गर्ने जय श्री महाबोधी वृक्षको जीवित अवशेष पनि पनि कुनै न कुनै रूपमा यहाँ रहनु बुझ्न सकिने नै कुरा भयो। सन् १९७२ मा बनेको रहेछ महाबोधी बिहार।

महाबोधी बिहार थुम्को जस्तो डाँडामा छ। ८८ फिट अग्लो बुद्धको प्रतिमा। स्वेतप्रतिमा। प्रतिमासम्म पुग्न उक्लिने सिँढी। माथिसम्म जान पाइने। माथिबाट हेर्दा क्यान्डीको सबैजसो भाग देखिने। मनमोहक दृश्य क्यान्डी शहरको। त्यहीँ बसिरहुँ जस्तो! फनफनी घुमीघुमी हराभरा क्यान्डी शहरलाई हेरी रहुँ जस्तो!

महाबोधी बिहारको परिसरभित्र बौद्ध धर्मसम्बन्धी ग्रन्थहरूको भव्य संग्रहालय रहेछ। बिहारकै परिसरभित्र सानो हिन्दु मन्दिर पनि छ। पश्चिमतर्फ रहेको एउटा अग्लो वृक्षको फेदमा गौतम बुद्धको प्रतिमा छ।

यो बिहार बौद्धमार्गीका लागि जय श्री महाबोधी वृक्षको स्मरण गर्न र ‘अनिमिसालोचना पूजा’ पनि महत्वपूर्ण हुने नै भयो। बौद्ध धर्मसंग सम्बन्धित विशद् अध्ययन गर्न चाहने अध्येताका लागि पनि यो बिहारमा रहेको संग्रहालय सुविधायुक्त रहेछ।

पर्यटकका लागि यो बिहार क्यान्डी उपत्यकाको दृश्यावलोकनका लागि अत्यन्त उपयोगी। उसै त यस बिहारमा आइपुग्न उकालो उक्लिनु पर्ने। त्यसमा डाँडाको थुम्कोमा बनाइएको ८८ फिट अग्लो प्रतिमा। प्रतिमाको शीर्ष भागसम्म पुग्न सकिने सिँढी । सिँढीं उक्लेर जोसुकै पनि प्रतिमाको माथिमाथिसम्म पुग्न पाउने।

उक्लिँदै शीर्ष भागमा पुग्दा क्यान्डीको सबैभन्दा उचो भागमा आइपुगेंझैँ लाग्ने। प्रतिमामा उक्लिनु मात्र पर्छ; वृहत् क्षेत्रमा फैलिएको क्यान्डी ताल त्यहीँ तल देखिन्छ। त्यसको किनारमा देखिन्छ ‘बुद्धको दाँत भएको मन्दिर’।

क्यान्डी उपत्यकाको समग्र आवादी आँखैअघि। कता हेर्ने, कता नहेर्ने ! कति बेरसम्म हेर्ने!! कतिपटक घुमीघुमी हेर्ने!!! रोमाञ्चकता र कौतुहल सँगसँगै।

हाम्रो यसपटकको पर्यटकीय भ्रमण योजनामा अनुराधापुरा परेन। हामीले यही महाबोधी बिहारबाट अनुराधापुरामा रहेको जय श्री महाबोधी वृक्षको जीवित अवशेषका रूपमा रहेको बोधी वृक्षलाई प्रणाम गर्यौं।

बिहारबाट ओर्लेर अघि टुकटुक छाडेकै स्थलसम्म पैदल आयौं। किनभने अब हामीलाई क्यान्डी तालसम्म जानु थियो।

नेपाल टच / सरल पत्रिका  सहकार्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *