दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

विराटनगर। सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको छ।

उदयपुरबाट दुहवी जाँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्रियुगा नगरपालिका–८ राजाबासका खतिवडा नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।

दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएका छन्।

इटहरीस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका प्रसनि खतिवडालाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो।

उपचारका क्रममा उनको दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्रगतिमा रहेको भ्यान अनियन्त्रित हुँदा सडक छेउको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *