‘कोशी उच्च बाँध निर्माण योजना’ खारेज गर्न माग

विराटनगर। ‘कोशी उच्च बाँध निर्माण योजना’ खारेज गर्न माग गरिएको छ। यो मागसहित ‘सप्तकोशी उच्च बाँधविरुद्ध सङ्घर्ष समिति’ ले जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत् गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।

समितिका अध्यक्ष असीम राई सहितको प्रतिनिधिमण्डलले धनकुटाको सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो।

कोशी उच्च बाँध योजनाले स्थानीयको बसोवास रहेको क्षेत्र र समुदायको अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न हुने भन्दै समितिले खारेजीको माग गरेको हो।

यस क्षेत्रका हजारौं परिवारको वासस्थान र खेतीयोग्य जमिन डुबानमा पर्ने, भाषा, संस्कार, परम्परा, मठमन्दिर र सांस्कृतिक सम्पदा नासिनले साथै किराँतहरूका् आस्थाको केन्द्र रहेको त्रिवेणीस्थित खुवालुङ पूर्ण डुबान हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

कोशी उच्च बाँध राष्ट्रको हितविपरीत रहेको तर्क समितिको छ। यसैगरी, जैविक विविधता र पर्यावरणीय सन्तुलनमा अपूरणीय क्षति हुने समितिले जनाएको छ। परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको पूर्वसहमति बिना योजना अगाडि बढाउनु लोकतान्त्रिक मूल्य र मानव अधिकारको उल्लंघन भएको पनि समितिले बताएको छ।

समितिले कोशी उच्च बाँध निर्माण प्रक्रिया तुरुन्त रोक्नुपर्ने, परियोजनाको प्रभाव मूल्याङ्कन पारदर्शी, वैज्ञानिक र सहभागी प्रक्रियाबाट गरिनु पर्ने, प्रभावित समुदायको पूर्वसहमति अनिवार्य हुनुपर्ने माग गरिएको छ।

कोशी उच्च बाँधले धनकुटा, उदयपुर, खोटाङ, भोजपुर र संखुवासभा गरी पाँच जिल्लाका तल्लो भूभागमा धेरै क्षति हुने र बस्ती विस्थापित हुने समितिले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *