गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना, ३ जनाको मृत्यु
Oplus_131072
विराटनगर। उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा जाँदै गरेको बस आइतबार मध्याह्न दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २३ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–१० बदगामा प्रदेश १–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस आफैं अनियन्त्रित भएर पल्टिएको हो।
दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती र पहिचान नखुलेका १ पुरुष र १ जना महिलाको मृत्यु भएको काफ्लेले जनाए। उनका अनुसार गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पठाइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।
पहिचान खुल्न बाँकी रहेका पुरुष र महिलाको भने बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको डीएसपी काफ्लेले बताए। उनका अनुसार शवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएर मृतकको पहिचानको प्रयास भइरहेको छ।
बसमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ। तीमध्ये कम्तीमा २३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर र केहीको मध्यम एवं सामान्य छ। उनीहरुको विराटनगरको गोल्डेन अस्पताल र कन्चनरुप नगर अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ बस्ने २१ वर्षीया सुवेता दाहाल, २६ वर्षीया चेतना भट्टराई, सप्तकोशी–२ का ४४ वर्षीय विजय विक, झापाको झापा गाउँपालिका–३ का मनोज भट्टराई, मीना भट्टराई, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ की ५९ वर्षीया कमला भुसाल, चौदण्डीगढी नगरपालिका–९ की २६ वर्षीया नरमाया मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ३५ वर्षीय भरत यादव, सप्तरीको हनुमानकंकालिनी नगरपालिका–३ का १९ वर्षीय महमद असलम र हनुमानकंकालिनी नगरपालिका–७ का ३७ वर्षीय वीरेन्द्र ठाकुर घाइते भएका छन्।
त्यस्तै, सप्तकोशी–१ की ४० वर्षीया सविता थापा, ३० वर्षीया सुष्मा विष्ट, ७० वर्षीया पवित्रा मगराती, सप्तरीको महादेवा गाउँपालिका–२ की ५० वर्षीया विमलादेवी ठाकुर, उदयपुरको बसाहा नगरपालिका–९ बेल्टारकी ६० वर्षीया मायादेवी थापा, सप्तरीको कन्चनरुप नगरपालिका–४ का ३४ वर्षीय श्याकुमार सदा, ४० वर्षीय मनोज सदा, उदयपुरको त्रियुगा नगरपालिका–१ का ४० वर्षीय सनावती चौधरी, कन्चनरुप–८ की ५५ वर्षीया निर्मला गुप्ता, उदयपुुरको चौदण्डीगढी–१० का ६५ वर्षीय पुजनदेवी सिलवाल, ३० वर्षीया गीता सिलवाल र चौदण्डीगढी–९ का ६८ वर्षीय बमबहादुर कार्की घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले बस र चालक झापाको मेचीनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी काफ्लेले बताए।
