महासंघ अध्यक्ष सुवेदीको नेतृत्वमा शिक्षामन्त्री भेट्दै शिक्षक-कर्मचारी टोली

काठमाडौं। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको शिक्षक–कर्मचारी टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग भेट गर्दैछ।

नवनियुक्त मन्त्री पन्तले शिक्षकहरुसँग विगतमाझैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि महासंघ राष्ट्रिय समितिलाई आजै आह्वान गरेका थिए।

मन्त्री पन्तको प्रयासपछि आज शुक्रबार आन्दोलनरत शिक्षक महासंघ र मन्त्रालयबीच छलफल हुने भएको हो।

विज्ञप्ति जारी गर्दै उनले महासंघलाई सरकारको तर्फबाट आह्वान गरेका हुन्। उनले विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवर्द्धन गर्न उपयुक्त निकास निकाल्न सदैव प्रयत्नशील रहेको बताएका छन्।

शिक्षक प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविक रहेको भन्दै शिक्षकहरुको हकहित प्रवर्द्धन गर्न सदैव प्रयत्नशील रहेको बताए।

विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रक्रियामा रहेकोमा उक्त विधेयकलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कमर्चारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको पनि उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *