बसको ठक्करले मोटरसाइकलमा सवार दिदीको मृत्यु, भाइ घाइते
विराटनगर। मोरङको कानेपोखरीमा बसको ठक्करले एक जना महिलाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–७ मा भएको दुर्घटनामा मृतक महिलाका भाइ घाइते भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार उदयपुरको बेलका नगरपालिका–४ घर भएकी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि विराटनगरतर्फ पठाइएको डीएसपी दाहालले बताए। शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ।
झापाको काँकडभिट्टाबाट धरान जाँदै गरेको गोर्खा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको थियो।
बस र चालक झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
