सरकारद्वारा विद्यालय फर्कन आह्वान, के भन्छन् शिक्षक?
काठमाडौं। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गर्ने भएको छ। सरकारले शिक्षकका माग पूरा गर्न प्रतिबद्ध रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न समेत आह्वान गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेत प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट विधेयक पारित गर्न समन्वय र सहजीकरण गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन अन्त्य गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको छ।
शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको बताउँदै विद्यालय फर्किन आह्वान गरिएको बताइन्। उनले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि समेत संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको बताइन्।
आन्दोलनको अगुवाइ गरिरहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे महासंघमा छलफल गर्ने तयारी भएको बताए। छलफलपछि मात्र के गर्ने भन्नेबारे टुंगो लाग्ने उनको भनाइ छ। आन्तरिक छलफलपछि के गर्ने भन्ने निधो हुने उनले बताए।
मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको भन्ने जानकारीमा आएको उल्लेख गर्दै सुवेदीले महासंघमा छलफल गरेर आधिकारिक धारणा बनाउने बताए।

छलफल त आन्दोलन अझ सशक्त बनाउने त्यसकाे लागि कुनै पनि शिक्षक घरमा बस्नु हुदैन।सरकारले शिक्षकलाई बिरालाेले मुसा खेलाए जस्तै खेलाएकाे छ । अब हाम्रा माग ऐनमा लिपिबद्ध नगरी छाड्नु हुदैन ,भन्ने बिषयमा छलफल हुनुपर्छ ।
विद्यालय कर्मचारी काे सेवा सुविधाको पुर्ण ग्यारेन्टी काे सम्झाैता हुनुपर्छ अब अाउने वजेट बाट