सासु आमाका नाममा…
सम्झन्छु एउटा यात्रा
बेहुली नामको नव
जन्मघरदेखि कर्मघर सम्मको।
रातो सिन्दुर र अक्षताले
रातै पहिरनमा रङ्गिएकी मलाई
घरकी लक्ष्मी भन्दै स्वागत गर्ने
एउटी नारी मेरी सासु आमा।
जिन्दगीमा भोगेर भोगाइहरु
पोख्दैछु अनुभव र अनुभूतिहरु
केही भिन्न छैनन्
जन्म दिने आमा र कर्म घरकी सासु आमा
फरक छैनन् मेरा लागि
कुनै दृष्टिमा पनि
दुबै ममताले भरिएका
दर्बिलो जहान हुन मेरा लागि ।
ढकमक्क फुलेका
दुईटा गुलाफ जस्ता
सयपत्री मखमली जाइजुही जस्ता
प्रेमिल मनका झण्डा जस्ता
धर्ती देखाउने आमा
मेरो लागि कहिले जित्नु भएन
हारेरै मलाई जिताउनु भो
पाथी भर्दा
आफू हारेर मलाई जिताउनु भो
निस्वार्थ मेरी सासु आमा
मेरी पनि आमा हुन्
मलाई धर्तीमा टिकाउने ईश्वररुपा हुन्
जब बुहारी भएर भित्रिएँ
धेरै माया दिने आमा पाएँ
मलाइ पिर पर्दा
सधैँ चट्टान भएर उभिने
माया र ममताले भरिएकी
ओत लाग्ने छहारी पाएँ मैले।
सधैं भन्ने गर्नुहुन्छ
अन्नको दाना फाल्नु हुँदैन
पुर्खाले मानिआएको धर्म मान्नु पर्छ
आफ्नो काम आफैँ गर्नु पर्छ
पाप कर्म गर्नु हुँदैन
सत्कर्मको फल मीठो हुन्छ भनेर।
राम्रा कुरा सिकाइरहने
सन्तानलाई भनिरहने
सत्कर्म देखाइरहने
रामायण र महाभारतकी
आदर्शपात्र
सम्झन्छु म
प्रसव पीडामा छटपटिएको बेलाको दृश्य
दश औँला जोडेर
भगवानसँग प्रार्थना गर्ने
साक्षात् भगवानरुपी
मेरी महान सासु आमा।
मलाई लक्ष्मीको दर्जा दिने
घरको शोभा भन्ने
शुभ आशिर्वाद दिने
महान र आदर्श नारी
मेरी सासु आमा
मेरा लागि आमा हुन्
पावन तीर्थ मेरी सासु आमा।
