पूर्वप्रधानमन्त्री खनालको चेतावनी, ‘शिक्षकका माग पूरा नगरे जनआन्दोलन’
काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले आन्दोलनरत् शिक्षकहरूको माग पूरा गर्न सरकारसँग माग गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि नयाँ शिक्षा ऐन ल्याउने पर्ने लगायतका माग राख्दै ध्यानाकर्षण गराउँदा पनि सरकारले सुनेको नसुन्यै गरिरहेको उल्लेख गरेका छन्।
नेकपा समाजवादीका नेता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–
राजधानी काठमाडौँमा देशभरका शिक्षकहरू अबिलम्ब नयाँ शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग राखी सडक आन्दोलनमा उत्रिएका छन्। तर शिक्षकहरूका मागहरूलाई सरकारले सुनेको नसुन्यै गरिरहेको छ। उनीहरूका जायज आन्दोलनप्रति बेवास्ता गरिरहेको छ।
यस्तो अवस्थामा सम्पूर्ण न्यायप्रेमी नेपालीहरू र सच्चा क्रान्तिकारी, वामपन्थी र देशभक्त जनता र शक्तिहरूको तर्फबाट म शिक्षकहरूको यो जायज र न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थन गर्दछु र उनीहरुको यो आन्दोलनप्रति दह्रो ऐक्यबद्धता प्रकट गर्दछु।
शिक्षकहरू भनेका मुलुकमा शिक्षाको ज्योति फैलाउने आदरणीय गुरुहरु हुन्। उनीहरूले नै हाम्रा समस्त बालबालिकाहरूलाई शिक्षाको आलोकबाट आलोकित गरिरहेछन् र देशको भविष्य निर्माणमा योगदान गरिरहेका छन्।
यिनै शिक्षकहरूले बालेको नवचेतनाको ज्योतिले देशमा ठूला–ठूला परिवर्तन र क्रान्ति समेत हुँदै आएका छन्। शिक्षकहरू सिङ्गो समाजका आदरणीय र सम्माननीय गुरुहरू हुन्। उनीहरूका मागहरूलाई सरकारले उच्च सम्मानका साथ हेर्नुपर्छ, उनीहरूका गुनासा सुन्नुपर्छ र उनीहरूका जायज भनाइहरूलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने हुन्छ। तर सरकारले उनीहरूलाई बेवास्ता गरेको देख्दा हामी सबैलाई आश्चर्य र दुःख लागिरहेको छ।
यस्तो स्थितिमा सम्पूर्ण आन्दोलनरत् शिक्षकहरूका मागहरूलाई अबिलम्व सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अबिलम्व आ–आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न वर्तमान सरकारसँग जोडदार माग गर्दछु। साथै सरकारले आदरणीय शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहन्छु।’

