शिक्षक भन्छन्, ‘माग पूरा गर’, सरकार दोहोर्याउँदैछ, ‘वार्तामा आऊ’

काठमाडौं। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले फेरि बोलाएको छ। यसअघि पनि पटक पटक वार्तामा बस्न भन्दै आएको सरकारले मंगलबार विज्ञप्ति जारी गर्दै वार्तामा आउन आग्रह गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक, कर्मचारीको प्रतिनिधित्व रहने गरी वार्तामा आउन आग्रह गरिएको हो।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श हुन सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१–१२–२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ। साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाहअनुसार तय गरिनेछ।’

यसअघि पनि सरकारले वार्तामा आउनका लागि शिक्षकहरुलाई आह्वान गरेको थियो । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गर्न माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।

पछिल्लो पटक आज उनीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए। हिजो मुखमा कालो मास्क लगाएर प्रदर्शन गरिएको थियो भने अघिल्लो दिन सिट्ठी फुकेर शिक्षकहरुले सरकारको ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *