१० हजार वर्षअघि हराएका ब्वाँसोको फेरि जन्म
वैज्ञानिक जगतमा हाल एउटा निकै रोचक र अचम्मलाग्दो घटना भएको छ।
सरल भाषामा यसरी बुझौः
आजभन्दा १० हजार वर्ष पहिले हराएर, लोप भएको सेतो रंगका Dire wolf (एक प्राचीन, अब लोप भइसकेको भेडिया) जातिको ब्वाँसोहरूलाई वैज्ञानिकहरूले फेरि जन्म दिलाउन सफल भएका छन्।
१३ हजार वर्ष पुरानो हड्डी र ७२ हजार वर्ष पुरानो हड्डीबाट संरक्षित डीएनए (Deoxyribonucleic Acid) लिएर विभिन्न चरणबाट परिमार्जन गर्दै यसरी नयाँ बच्चाहरू जन्म दिलाउन वैज्ञानिकहरू सफल भएका छन्।
सन् २०२१ मा स्थापित कम्पनी ‘कोलोसाल बायोसाइन्सेस’ का वैज्ञानिकहरूले आधुनिक जनेटिक इन्जिनियरिङ र प्राचीन संरक्षित डीएनएको सहायताले Dire Wolf को जीनसमूह पत्ता लगाई, सामान्य ग्रे वुल्फको जीनलाई परिमार्जन गर्दै घरेलु कुकुरलाई सरेगेट आमा बनाएर, तिनीहरूले तीन वटा बच्चाहरू- Romulus, Remus, र उनीहरूको बहिनी Khaleesi जन्माएका हुन्। यो प्रजातिलाई पहिलो पटक पुनर्जीवित (de-extinct) गराइएको छ।
यी जनावरहरूलाई सार्वजनिक सुरक्षाका कारण २ हजार एकडको गोप्य स्थानमा राखिएको छ। ‘कोलोसाल बायोसाइन्सेस’ कम्पनीको लक्ष्य Dire Wolf मात्र होइन, Woolly Mammoth, Dodo, र Tasmanian Tiger जस्ता अन्य लोप भएका जनावरहरूलाई पनि पुनर्जीवित गर्ने बताइएको छ।
वैज्ञानिकहरूको यो कार्यले नैतिक प्रश्न त उठेको छ। सँगै प्राकृतिक सन्तुलन र ‘इकोसिस्टम’ मा पर्न सक्ने असरबारे पनि गम्भीर चिन्ता गरिएको छ। यसो भए पनि पृथ्वीबाट लोप हुन लागेका अन्य हजारौँ जीवहरू पुनर्जिवित हुने र देख्न पाइने नयाँ आशा भने पलाएको छ।
भएन त गज्जब?
-लेखक वैज्ञानिक तथा हरित सहर अभियानका अगुवा सामाजिक अभियन्ता हुन् ।
