शिक्षकले राज्य सत्ता परिवर्तन गर्न चाहेका होइनन्
संघीय सांसदज्यूहरूलाई चिठ्ठी
श्रीमान् माननीयज्यूहरू
सङ्घीय संसद सचिवालय सिंहदरबार काठमाडौँ।
विषयः संसदको विशेष अधिवेशन आह्वान गरिदिनुहुन।
प्रस्तुत विषयमा विगत ६ दिनदेखि नेपालका सामुदायिक विद्यालयका शिक्षकहरू विगतमा आफूहरू र सरकारबीच भएका सहमति र सम्झौता समेटेर तत्काल शिक्षा ऐन जारी गरिदिनुहुन भन्दै सडकमा बसेको कुरा यहाँहरु सबैलाई विदितै छ। नेपालका दीर्घकालीन असर पार्ने कानुन निर्माण गर्ने अधिकार तपाईँहरूमा छ।
आफ्नो अधिकार हुँदाहुँदै पनि तपाईँहरू तीनजना पार्टीका अध्यक्षहरूको निर्देशन पर्खेर बस्नुभएको अवस्था देखिन्छ। शिक्षा ऐनले तपाईं हाम्रा आफ्नै सन्ततिलाई समेत दीर्घकालीन असर पार्ने पक्का छ।
त्यसैले तपाईहरु आफ्नो अधिकारलाई केही सीमित नेतृत्वलाई बुझाएर आफू निरीह भएको प्रमाणित नगरिदिनुहोला। विभिन्न राजनैतिक दलका युवा सांसदहरूप्रति हामी शिक्षकहरूको अत्यन्तै आस्था विश्वास र भरोसा थियो। तर विगत केही दिनदेखिका तपाईहरुका विचारहरु केन्द्रीय नेताका विचारसँग मिल्दै गर्दा हामी तपार्इंहरुसँग पनि सशंकित हुन पुगेका छौं।
विगतको इतिहासलाई हेर्ने हो भने पनि दुईपटक संविधानसभाको निर्वाचन भयो तर निर्वाचित सांसदहरूले संविधानमा के लेखियो भन्ने कुरा हेर्न र पढ्नसम्म पाएनन् केही सीमित नेतृत्व गणले।
अझ भन्ने हो भने उनीहरुका नजिकका प्राविधिक कर्मचारीहरुले संविधान लेखे र घोषणा गरे घोषणामा साथ दिन निर्वाचित सांसदहरुले ताली पिटे यो कुरा ध्रुव सत्य हो।
त्यसैले तपाईँहरू यति धेरैको संशोधन हालेर ‘लिङ्गरिङ’ गरिरहनुभएको छ। यदि साँच्चैको ऐन बनाउने हो भने प्राप्त सुझावहरूलाई समेटेर विशेष अधिवेशन बोलाई प्रत्येक माननीयलाई दफावार छलफलमा भाग लिन लगाई एक दिनमा शिक्षकहरुले काम गरे जस्तो छ घण्टाका दरले निरन्तर काम गर्नुहोस् अधिकतम १५ दिनमा तपाईंको काम सकिन्छ।
रिबन काट्ने उद्घाटनमा जाने, आयोजकको प्लेन टिकटमा उड्ने अनि विभिन्न आयोजनाका ठेकेदारहरुलाई नजिक बनाउने र बेलुका पार्टी खाने यसरी कानुन बन्दैनन्। कानुन बन्नका लागि रातभरि अध्ययन गर्ने र भोलिपल्टको संसद बैठकमा आफूले अध्ययन गरेका विषयले निर्माणाधीन कानुनमा कहाँ सहयोग पुग्छ भन्ने बारेमा तार्किक छलफल गरी निष्कर्षमा पुग्ने गर्नुपर्छ।
म सबै माननीय ज्यूहरूलाई सम्मान गर्छु तर व्यवहारिक हिसाबले म माननीय हुँ मेरो जिम्मेवारी कानुन निर्माण गर्ने हो र संविधानले तीन वर्षभित्र सबै कानुनहरु निर्माण गरिसक्नुपर्छ भनेर संवैधानिक व्यवस्था गरेको सन्दर्भमा मेरो पहिलो काम कानुन निर्माण गर्नु हो भन्ने कुरा जबसम्म माननीयज्यूहरुले बुझ्नुहुन्न तबसम्म केन्द्रीय नेतृत्वको मुख ताक्ने कामबाहेक अरु केही हुन सक्दैन।
अहिले हामीले देशको शिक्षा सुधारका लागि एउटा शिक्षा ऐन जारी गर्नुस् भनेको हो तर तपाईहरुले शिक्षा ऐन दिँदा आकाश खस्छ पाताल भासिन्छ र भूकम्प गएर देश नै ध्वस्त हुन्छ जस्तो गरी एउटाले अर्काेलाई र अर्काेले अर्काेलाई देखाउँदै हिँड्नुभएको छ।
यसले तपाईँहरु हामी शिक्षकहरु र हाम्रा भविष्यका कर्णधार बालबालिकाहरूलाई भलाई गर्दैन त्यसैले साँच्चै तपाईँहरू देश र नागरिकप्रति जिम्मेवार हुनुहुन्छ भने जिम्मेवारपूर्वक काम गर्नुहोस् ‘इगो हठ’ बाट देशको समस्याको समाधान हुँदैन।
तपाईँहरु अहिले पनि जस र अपजसको भुँमरीमा रुमलिँदै यी शिक्षकहरुलाई हप्काएरै घर पठाउन सकिन्छ भनेर आफूलाई माया गर्ने र आफ्नो वैचारिक धारलाई समर्थन गर्ने शिक्षकहरुलाई आफ्नो बसमा पार्नका लागि प्रयास गरिरहनु भएको छ।
सायद तपाईंको राजनैतिक स्वार्थ त पूरा होला तर दशौं वर्षपछिको भविष्य बोकेका हाम्रा बालबालिकाको लागि यो जति दुखद अरु केही हुन सक्दैन।
अहिले आएर केही सङ्ख्यामा शिक्षकहरूले सुविधा प्राप्त गर्न सक्छन् र त्यो सुविधा प्रदान गर्दै गर्दा राज्यलाई थोरै व्यवहार बढ्न जान्छ भन्ने कुरालाई लिएर तपाईहरु यसरी हामीलाई अन्योलमा पार्नुहुन्छ भने पक्कै पनि बुझ्नुहोला यो नेपाली समाजमा शिक्षकहरु मात्र छैनन्, शिक्षकले भनेको मान्ने विद्यार्थी पनि छन् र शिक्षकले भनेको मान्ने अभिभावकहरु पनि छन्।
तपाईँहरुको यो हर्कत सबै सबैले देखेका छ हेरेका छन्। शिक्षकले राज्य सत्ता परिवर्तन गर्न चाहेका होइनन्। वर्षौंदेखि तपाईँहरूले गरेको सम्झौता समेटेर एउटा ऐन खोजेको हो।
त्यसैले देशमा आएको यो संकटको घडीमा संघीय संसदका माननीयज्यूहरु एउटै थलोमा भेला भई शिक्षकहरूको शिक्षा ऐन सम्बन्धी मागका सन्दर्भमा छलफल गर्न सहज हुने विशेष अधिवेशन बोलाई अगाडि बढिदिनु हुन हामी हार्दिक हार्दिक अनुरोध गर्दछौं।
प्रार्थी
सन्तोष पोखरेल
आन्दोलनमा संलग्न सामुदायिक विद्यालयका शिक्षकहरूको तर्फबाट
