प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे मन्त्रीहरूसँग छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत् शिक्षकहरुका मागबारे आज सोमबार छलफल गरेका छन्।

उनले अर्थमन्त्री, गृहमन्त्री, शिक्षामन्त्री, मुख्य सचिव र सचिवहरुसँग छलफल गरेका हुन्। नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग संवादमार्फत् समस्याको छिटो समाधान खोजिने प्रधानमन्त्रीले जानकारी दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग प्रधानमन्त्रीले छलफल गरेका हुन्।

बैठकमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको जनाइएको छ। शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग एवं गुणस्तरीय शिक्षाको सुनिश्चितता लगायत विषयमा छलफल भएको थियो।

विद्यालय शिक्षा ऐन चाँडो लागू गरिनुपर्ने लगायत माग राख्दै शिक्षकहरु आन्दोलित छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

आज उनीहरुले कालो मास्क लगाएर प्रदर्शन गरेका थिए। हिजो सिट्ठी जुलुस प्रदर्शन गरेका शिक्षकहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *