घिमिरे बन्धु प्रतिष्ठानले सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने

काठमाडौं। घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा राष्ट्रिय धार्मिक महामहोत्सव आयोजना गर्ने भएको छ। महोत्सव नयाँ वर्ष २०८२ को पहिलो दिन सुरु हुने जनाइएको छ।

महायज्ञ अवधिभर श्रद्धालुजनबाट अर्पित दान दातव्य र आर्थिक सहयोगबाट प्रतिष्ठानले संस्थागत पूर्वाधार निर्माण गरी विभिन्न कल्याणकारी कार्य गर्ने लक्ष्य राखेको छ।

प्रतिष्ठानले सनातन पद्दतिको जगेर्ना गर्न धार्मिक कार्य गर्दै आध्यात्मिक चेतना प्रवर्द्ध गर्ने, प्रतिष्ठानका लागि काठमाडौं उपत्यकाभित्र जमीनको व्यवस्था मिलाई भवन निर्माण गर्ने जनाइएको छ।

यसैगरी, प्रतिष्ठान परिसरभित्र विभिन्न कल्याणकारी कार्य गर्ने, अध्ययन, अनुसन्धानका लागि संग्रहालय, पुस्तकालय, वाचनालय, प्रविधि सिकाई स्थल स्थापना गर्ने जस्ता कार्य गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका निवर्तमान सचिव तथा वर्तमान सदस्य अजय घिमिरेले जानकारी दिए।

यस्तै, योग ध्यान र रक्तदान सेवा नियमित सञ्चालन गर्ने, बन्धुमिलन, अन्तरसम्वाद तथा अन्य समुदायसँग पनि अन्तरक्रिया अगाडि बढाउन भवन परिसरभित्र सभा कक्ष निर्माण गर्ने लक्ष्य पनि प्रतिष्ठानको छ।

गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्न अक्षयकोष स्थापना गर्ने लक्ष्य पन रहेको घिमिरे जानकारी दिए।

त्यस अवसरमा ग्रहशान्ति, तुलादान, रुद्राभिषेक, ब्राम्हण भोजन, प्रसाद वितरण, ब्रतबन्ध र चौरासी पूजा जस्ता विशेष कार्यक्रम समेत गरिने भएको छ।

महायज्ञको पहिलो दिन शोभा शान्ति कलश यात्रा, उद्घाटन र पूर्वाङ्ग हुनेछ। दोस्रो दिनदेखि ८ गतेसम्म नियमित पूजापाठ, पाठपारायण, कथावाचन, भागवत विसर्जन, तिल अर्पण तथा साँझ दीप प्रज्वलन हुनेछ भने ९ गते पूर्णाहुति गरी महायज्ञको समापन हुने प्रतिष्ठानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *