नोबेलका चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु, मुद्दा अदालतमा

विराटनगर। विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। गलत औषधि दिएर हेलचेक्र्याइँ गरेको उल्लेख गर्दै मृतकका श्रीमानले अदालतमा फिरादपत्र दिएका छन्।

आफ्नो विशेषज्ञता नभएको समस्यामा चिकित्सकले उपचार गर्दा सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएको हो। माघ १० गते पोखरेललाई श्वासप्रश्वासको समस्या देखिएपछि नोबेल ल्याइएको थियो।

अस्पतालमा आएपछि फोक्सो एवं श्वासप्रश्वास विशेषज्ञ डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखाइ पनि निको पारिदिन्छु भनी उपचार गरेका थिए। त्यही क्रममा बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ।

बिरामीको मृत्यु भएपछि क्षतिपूर्ति माग्दै मृतक परिवार अदालत पुगेको छ। मृतकका श्रीमान् महेश्वर पोखरेलले मोरङ जिल्ला अदालतमा बुधबार फिरादपत्र दर्ता गरेका छन्।

बिरामीको विभिन्न परीक्षण गराएपछि डा. घिमिरेको रेखदेखमा उनको उपचार भएको थियो। एक साताको उपचारपछि घिमिरेले नै घर लैजान परिवारलाई सुझाव दिएका थिए।

महेश्वरका अनुसार विमलाको ढाडमा सामान्य दुखाइको समस्या थियो। अर्थाेपेडिक डाक्टरको सल्लाहबमोजिम औषधि सेवन गरिरहेकी थिइन्। डिस्चार्ज भइसकेकी विमलाको ढाड दुख्ने समस्या देखियो।

डा. घिमिरेसँग समस्या राख्दा उनले ‘मोर्फिन’ नामक औषधि खान सिफारिस गरेका थिए। ‘डा. रामहरि घिमिरे र डा. रुपक केसीले सहीछाप गरेर मोर्फिन सेवन गर्न सिफारिस गरेको परिवारले जनाएको छ।

उक्त औषति सेवन गरेपछि झनै समस्या भएको परिवारको भनाइ छ। ज्वरो आउने र श्वासप्रश्वासमा अझ समस्या देखियो। यसबारे स्वास्थ्यकर्मीहरुलाई सुनाउँदा बेवास्ता गरेका थिए।

अदालतमा दिइएको फिरादपत्रमा महश्वरे लेखेका छन्, ‘माघ २१ गते रातभरि मेरी पत्नी पीडामा छट्पटाइन्, बिहानपख बेहोस भइन्। रोइकराइ गरेपछि आइसीयूमा लगियो र अघिल्लो दिन डिस्चार्ज हुन लागेकी मेरी पत्नीलाई अस्पतालले मृत घोषणा गरिदियो।’

मोर्फिन दुखाइ कम गर्ने ‘पेनकिलर’ हो। यसको प्रयोग अत्यधिक दुखाइका बेला चिकित्सकको रेखदेखमा दिइन्छ। यद्यपि, श्वासप्रश्वासका बिरामी, एलर्जी, नशासम्बन्धी रोग, गम्भीर मिर्गाैला र कलेजोका बिरामी र गर्भवती महिलालाई दिन नहुने चिकित्सकहरु बताउँछन्।

गलत औषधि दिई गम्भीर लापरबाही गरेका कारण आफ्नी पत्नीको मृत्यु भएको महेश्वरको आरोप छ। सम्बन्धित विशेषज्ञ डाक्टरको निरीक्षणबिनै तीनपटक ५० एमजीका दरले १५० एमजी मोर्फिन औषधि सेवन गराइएको अस्पतालबाट जारी औषधि पत्रमा देखिन्छ।

परिवारले संविधानको धारा ४२ (२), उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति मागेको छ। पाँच करोड रुपैयाँ क्षतिपूर्तिमार्फत विपक्षीबाट असुलउपर हुनुपर्ने मागदाबी फिरादपत्रमा गरिएको छ।

यसैबीच, नोबेल अस्पताल प्रशासनले बिरामीको उपचारमा लापर्बाही नभएको दाबी गरेको छ। बिरामीको अवस्था सन्तोषजनक नै रहेको अवस्थामा एक्कासि श्वासप्रश्वासमा समस्या आएको र उनलाई सघन उपचार कक्ष (आइसीयु) मा भनाए गरिएको अस्पतालले जनाएको छ। विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले आइसीयुमा राखेर उपचार सुरु गर्ने क्रममा बिरामीको मृत्यु भएको दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *