पत्रकार बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर। सक्रिय पत्रकार किशोर बुढाथोकीलाई यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ दिइने भएको छ। ‘मुलुकी खबर’ अनलाइनका सम्पादक रहेका बुढाथोकी ‘अन्नपूर्ण पोस्ट’ को कोशी प्रदेश ब्युरो प्रमुख हुन्। उनी दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्।

पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ सय छ। महासंघ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा शुक्रबार बसेका बैठकले उक्त पुरस्कार दिने निर्णय गरेको हो। यो पुरस्कार प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा वितरण गर्ने गरिन्छ। शनिबार आयोजना हुने कार्यक्रममा बुढाथोकीलाई पुरस्कार हस्तान्तरण गरिने छ।

पुरस्कारका लागि आफूलाई छनोट गरिएकामा खुसी व्यक्त गर्दै बुढाथोकीले यसले आफ्नो कार्यक्षेत्र र सूचनाको हक स्थापित र कार्यान्वयन गर्ने कुरामा अझ सक्रिय हुन प्रोत्साहित गर्ने बताए।

यसैगरी, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ छ ।

भोजपुरको षडानन्द नगरपालिका-८ तुङ्गेछा घर भएका बुढाथोकी १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील छन्। २०६८ सालदेखि विराटनगरलाई उनले कार्यक्षेत्र बनाएका हुन्।

महासंघ मोरङका सचिव नेत्र पी अधिकारीका अनुसार षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार सिफारिस समितिको सिफारिसका आधारमा पुरस्कार वितरणको निर्णय गरिएको हो। अध्यक्ष पाठकको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिमा महासंघ मोरङका पूर्वअध्यक्ष यज्ञ शर्मा र दाता परिवारका तर्फबाट केदारबहादुर बस्नेत छन्।

उक्त पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार एवं सूचनाको हकका अभियन्ता गजेन्द्र बुढाथोकी, सूचनाको हकका अभियन्ताहरु काशीराज दाहाल र स्वः विनय कसजुलाई प्रदान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *