समाजसेवी-उद्योगी प्रधानको निधन
इलाम। सूर्योदय नगरपालिका-९ निवासी समाजसेवी तथा उद्योगी बिमल प्रधानको निधन भएको छ। मिर्गौलाको समस्याबाट पीडित ५६ वर्षीय प्रधान उपचारका लागि काठमाडौं गएका थिए।
त्यही समस्याबारे थप जाँच र उपचार गर्न गएका उनी काठमाडौं आफन्तकहाँ खाना खाने क्रममा खाना अड्किए जस्तो भएर अस्वस्थ भएका थिए। तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
सुरुमा उनलाई वीर अस्पतालमा लगिएको थियो। त्यहाँबाट न्युरो अस्पताल रिफर गरिएको उनका आफन्तले बताएका छन्। उक्त अस्पताल पुर्याएपछि जाँच गर्ने क्रममा चिकित्सकले उनको ‘ब्रेन ह्यामरेज’ भएको जानकारी दिएका थिए।
त्यहाँ जाँच र उपचारपछि उनलाई चिकित्सकले घर लैजान सल्लाह दिएका थिए। हेलिकप्टरमा उनलाई मंगलबार सूर्योदय–९ बरबोटेस्थित घर ल्याइएको थियो। बुधबार दिउँसो करिब साढे २ बजे उनको निधन भएको हो।
मेची भ्याली चिया उद्योगका सञ्चालक रहेका प्रधानको ताप्लेजुङमा मेची भ्याली नामकै प्लाई उद्योग सञ्चालनमा छ। झापामा पनि उनको प्लाई उद्योग सञ्चालनमा छ।
उद्योग–व्यापारको क्षेत्रमा सक्रिय प्रधान सामाजिक कामहरूमा पनि उत्तिकै सक्रिय थिए। सबैसँग मिलनसार व्यवहार गर्ने उनी लोकप्रिय थिए। प्रधान राजनीतिमा पनि आबद्ध थिए। पहिले उनी नेपाली कांग्रेसको क्षेत्रीय समितिका सदस्य थिए।
यसैगरी, उनी वन पैदावार व्यवसायी संघका पूर्वअध्यक्ष पनि हुन्। धार्मिक क्षेत्रमा पनि सक्रिय उनले दुई साताअघि घरैमा पुराण आयोजना गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश महतका अनुसार सक्रिय व्यवसायी र समाजसेवी प्रधान समाजमा प्रतिष्ठित व्यक्तिका रुपमा परिचित थिए। ‘एकजना असल व्यवसायी र समाजका सहयोगी व्यक्तित्व गुमाउनुपर्दा यस क्षेत्रमा शोक व्याप्त भएको छ’ महतले भने।
यसैबीच, नेपाली कांग्रेस इलामले प्रधानको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। यसैगरी, व्यवसायी, उद्योगी र अन्य संस्थाका प्रतिनिधिहरुले पनि प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन्।
