तीन जना स्रष्टालाई बाशु शशि सम्मान

काठमाडौं। बाशु शशि साहित्य सम्मानबाट तीन जना सर्जक सम्मानित भएका छन्। काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडीलाई उक्त सम्मान प्रदान गरिएको हो।

गीतकार यादव खरेलले स्रष्टात्रयलाई सम्मानपत्र हस्तान्तरण गरे। कार्यक्रममा सम्मानित व्यक्तित्व मुखियाले स्वर्गीय कवि वाशु शशिसँगका आफ्ना रोचक संस्मरणहरु सुनाएका थिए।

कवि वैद्यले वाशु शशिजस्तो नेपाली साहित्यको अग्लो प्रतिभाको नाममा राखिएको सम्मानबाट आफू सम्मानित हुन पाएकामा गर्व अनुभव गरेको बताए। कवि पहाडीले आफूलाई प्राप्त कृष्ण सरस्वती साहित्य पुरस्कारका लागि आयोजकलाई धन्यवाद दिइन्।

कार्यक्रममा कवि वाशु शशिको सम्मानमा वक्ताहरु हिरण्यकुमारी पाठक, प्रकाश सायमी, राधेश्याम लेकालीलगायत वरिष्ठ लेखकका भनाई राखिएको थियो । लेखक गायक गणेश रसिकको स्वास्थ्यलाभको कामना गर्दै मनबहादुर मुखियाले अझै राम्रा साहित्य र संगीत आउने दिनमा सुन्न पाइने आशा गरे ।

मुखियाका ‘अनि देउराली रुन्छ’, ‘फेरि इतिहास दोहोरिन्छ’ लगायत कृति प्रकाशित छन्। यसैगरी, वैद्यका ‘आकाश छुन खोज्ने मनहरु’, ‘समय र सपनाहरु’, ‘अक्षर सिम्फोनी’, ‘युगको तटमा उभिएर’ लगायत कृति प्रकाशित छन्। पहाडीका ‘मृगतृष्णा’, ‘घामका अक्षर’ लगायत कृति प्रकाशित भएका छन्।

१९९३ सालमा काठमाडौंमा जन्मेका वाशु शशिका ९ कविता संग्रह, ६ नाटक, २ उपन्यास, ६ अनुवाद जस्ता थुप्रै कृति प्रकाशित छन्।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाईं, राधेश्याम लेकाली, मोमिला जोशी, श्यामल र प्रतिसरा सायमी पुरस्कृत भइसकेका छन्।

यसैगरी, वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे र किरण खरेल सम्मानित भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *