बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव
विराटनगर। मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ। महोत्सवको आइतबार उद्घाटन गरिएको हो।
बेलबारी–१ स्थित तमु गुम्बा परिसरमा आयोजना गरिएको बेलबारी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले जानकारी दिइन्।
चैत १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय, नेपालका वरिष्ठ कलाकारहरू तथा भारत र जापानका कलाकारहरूको नाटक प्रदर्शन गरिने जनाइएको छ।
महोत्सवका अवसरमा रंगमञ्च र नाटकका विभिन्न पक्षमा अन्तरक्रिया गरिनुका साथै कलाकार र स्रष्टाहरुबीच अनुभव आदान प्रदान पनि गरिने भएको छ।
उद्घाटन कार्यक्रममा प्रदेश सभाका सदस्य ज्ञानेन्द्र सुवेदी, पूर्व सांसद हर्कमान तामाङलगायत सहभागी थिए। उद्घाटन कार्यक्रमको सञ्चालन सचिव कुलप्रसाद बरालले गरेका थिए।
यसैगरी, नाटककार ईरान राई, सोमनाथ खनाल, भीम बस्नेत, रमेश निरौला, दीप मङ्ग्राती, शङ्कर गुरुङ, छत्र लिम्बू, राम किराँती, भूपेन्द्र कोइराला, बिद्या सुवेदी, किरण ढकाल, रिता कोइराला, भीममाया खुलाललगायत समाजसेवी तथा स्रष्टाहरूको पनि उल्लेख्य सहभागिता थियो।
कार्यक्रमका सहभागीले साहित्य र रंगमञ्चका गतिविधि भइरहने गरे पनि बेलबारीमा नाटक मञ्चनका लागि नाटकघरको अभाव भएकाले यसको निर्माणमा ध्यान दिनुपर्ने बताएका थिए।


