उदयपुर पुग्यो मिल्स गोल्डकपको फाइनलमा
विराटनगर। विराटनगरमा जारी ५औं मिल्स गोल्डकप फुटबलको फाइनलमा गाईघाटको फ्युजन फुटबल क्लब पुगेको छ। बिहीबार जुट मिलको खेल मैदानमा भएको खेलमा सुनसरी, इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरमा हराउँदै उदयपुरको टिम फाइनलमा पुगेको हो।
गाईघाटले उपाधि हात पार्न शुक्रबार घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बलको बिजेतासँग खेल्ने छ।
आजको खेलमा गाईघाटका लागि रितेश तामाङले २ गोल, सुनिल खड्का, दीपक मगर र दिवस राईले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए। इटहरीका लागि सुजन मगरले सान्त्वना गोल गरे।
खेल ९ औं मिनेटमा गाईघाटका रितेशले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दीपक मगरले मिलाइ दिएको पासमा उनले गोल गरे। ४५ औं मिनेटमा इटहरीका सुजन मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। इटहरीका खेलाडी अभिषेक कालिकोटीलाई डिबक्सभित्र लडाएपछि रेफ्री अनिल खवासले पेनाल्टी दिए।
६१ औं मिनेटमा गाईघाटका रितेस पुनः टोलीका लागि गोल गर्दै अग्रता दोब्बर बनाए। लगत्तै सुनिल खड्काले गोल गर्दै अग्रता तेब्बर बनाए। दीपक मगर र दिवस राईले खेलको अतिरिक्त समयमा समान १–१ गोल थपे। गाईघाटका रितेश तामाङ म्यान अफ द म्याच हुँदै २ हजार रुपैयाँ पाए।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
