लालीगुराँसलाई हराउँदै लेटाङ मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर। मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक लाली गुराँस स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लेटाङ सेमिफाइनलमा पुगेको हो।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा लेटाङ्गका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे।

आयोजकका विवेक राई र कैलाश बस्नेतले गरेको प्रहार लेटाङका गोलरक्षक पूर्ण चेम्जोङ्गले उत्कृष्ट रुपमा बचाए। टाइब्रेकरमा दुई गोल जोगाएका पूर्ण खेलको म्यान अफ द म्याच घोषित भए। आयोजकको तर्फबाट टाइब्रेकरमा आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे।

जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ। लेटाङको जितसँगै मिल्स गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

यसअघि मंगलबार पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै सुनसरी इटहरीको टीएफसी तालतलैया सेमिफाइनलमा पुगिसकेको छ।

यस्तै, फ्युजन फुटबल क्लब उदयपुरले सप्तरीको प्रोगेसिभ युवा क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ। पेमा स्पोर्टिङ क्लब कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको छ।

बिहीबारको पहिलो सेमिफाइनल खेल उदयपुर, गाईघाटको फ्यूजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *