सीपमूलक तालिम दिएर रोजगार बनाउँदै ‘बहिरा स्कुल’

विराटनगर। विराटनगरस्थित बहिरा माध्यमिक विद्यालय नमुनाका रुपमा सञ्चालित छ। नेपालका २३ वटामध्ये कोशी प्रदेशको यो विद्यालय नमुना मानिन्छ।

प्रधानध्यापक मिनु अधिकारी दाहालका अनुसार यस विद्यालयबाट धेरै विद्यार्थी एसईई उत्तीर्ण गरेर उच्च शिक्षा हासिल गरिरहेका छन्। कतिपय रोजगार समेत भएको उनले बताइन्।

विद्यालयमा सीपमूलक तालिम पनि दिने गरिएको छ। हाल १० जना बालबालिकालाई सिकाई प्रशिक्षण दिइरहेको उनको भनाइ छ। यही विद्यालयकी उत्पादन एक छात्राले मोरङको बेलबारीमा बुटिक खोलेर व्यवसाय गरिरहेकी छन्।

कतिपय विद्यार्थीहरु सामाजिक काममा पनि लागेका छन्। एक जना विद्यार्थी बहिरा महासंघको सचिवसम्म भएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक अधिकारीका अनुसार यहीँ पढेका तीन जना विद्यार्थी विद्यालयमै काम गरिरहेका छन्। कोही कार्यालय सहयोगी अनि कोही छात्राबासको वार्डेनका रुपमा काम गरिरहेका छन्।

प्राथमिक तहको शिक्षकका रुपमा पनि यहीँका पहिलेका विद्यार्थी छन्। विद्यार्थीहरुले राम्रो प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानाध्यापक अधिकारीले उनीहरुको सफलतामा खुसी लागेको बताइन्।

नयाँ विद्यार्थीहरूका लागि पनि सहज वातावरण रहेको उनको भनाइ छ। अपाङ्गता भएका विद्यार्थीका अभिभावक पनि सन्तुष्ट रहेको विद्यालयले जनाएको छ।

विद्यालय २०६२ सालमा स्थापना भएको हो। आफूहरुले एउटा समूह बनाएर कोशी बहिरा संघसँग समन्वय गरी सांकेतिक भाषा सिकेर काम सुरु गरिएको हो। प्लान नेपाल नामको संस्थाको आर्थिक सहयोगमा विद्यालयको सुरुवात भएको अधिकारीले जानकारी दिइन्।

विद्यार्थीको इच्छाअनुसार होटल म्यानेजमेन्ट विषयमा कक्षा ९ देखि पढाइ सुरु गरिएको छ। पढाइ सकेपछि विद्यार्थीहरुले राम्रो पारिश्रमिकमा विराटनगरका होटलमा काम गर्न सक्ने जनाइएको छ। अधिकारीका अनुसार बहिराहरुकै संलग्नतामा विराटनगरमा बेग्लै होटल सञ्चालन गर्ने लक्ष्य पनि लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *