स्ववियु निर्वाचनः के भन्छन् विद्यार्थी नेता?
विराटनगर। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज मंगलबार गते देशभरिका क्याम्पसमा हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा हुने यो निर्वाचनबाट विद्यार्थीहरुले आफ्नो हक हितका लागि काम गर्ने प्रतिनिधि छनोट गर्ने छन्। केही विद्यालयमा भने विवादका कारण निर्वाचन स्थगन भएको छ।
विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि केही विवाद र असहज परिस्थिति बनेको थियो। तर आज यो क्यापसमा पनि निर्वाचन भइरहेको छ।
स्ववियुका लागि उम्मेदवार बनेकाहरुले आफ्ना विभिन्न एजेन्डारू सार्वजनिक गर्दै चुनावमा होमिएका छन्। क्याम्पसमा सुधार, व्यवस्थित पुस्तकालयदेखि विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराउने जस्ता आश्वासन र प्रतिबद्धता उनीहरुले दिइरहेका छन्।
निर्वाचनमा सहभागी संगठनका नेता र उम्मेदवार मात्र होइन मतदाताका रूपमा रहेका विद्यार्थीहरूमा पनि स्ववियु निर्वाचनको उत्साह देखिएको छ।
यसै सन्दर्भमा स्ववियु निर्वाचन र यससँग सम्बन्धित विषयमा महेन्द्र मोरङका केही चर्चित विद्यार्थी नेतासँग कुराकानी गरिएको छ।
रोहित यादव
अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार, बीबीएस प्रथम वर्ष
कलेजको परिवर्तनका लागि हाम्रो टिमको उम्मेदवारी हो।। अरु संगठनहरुले जस्तो गुण्डागर्दी तरिकाले होइन, विद्यार्थी हकहितका लागि मेरो उम्मेदवारी हो। २०६५ सालको निर्वाचनमा अखिल क्रान्तिकारीका जयराम सुन्दास निर्वाचित हुनुभएको थियो। त्यसपछि विभिन्न शैक्षिक कार्यक्रम भित्रिएका थिए। मलगायत हाम्रो टिमको मुद्दा विद्यार्थी हकहितका लागि जे पनि गर्न तयार छौं। विद्यार्थीकै हक हितका लागि काम गर्नका लागि मेरो र हाम्रो टिमको उम्मेदवारी हो।
राकेशकुमार यादव
समाजवादी विद्यार्थी युनियनबाट सचिव पदका उम्मेदवार
महेंद्र मोरङ्गलाई डिजिटलमय बनाउन मेरो उमेदवारी हो। विद्यार्थीलाई सानो भन्दा सानो कामका लागि घण्टौ बर्बाद गर्नु पर्दैन। शुल्क बुझाउन चार घण्टा लाइनमा बस्नु पर्छ। अब यसमा सुधार हुनेछ। छात्रावासको व्यवस्था छैन, भवन जीर्ण अवस्थामा छ, टाढाका विद्यार्थीका लागि बस्न सुविधा भइदिएको भए आज विपन्न वर्गका विद्यार्थीलाई धेरै सजिलो हुने थियो। यातायातको सुविधा छैन। बिहान ६ बजे कलेज लाग्छ तर आउने उचित साधन छैन। यी मुद्दाहरुको समाधानका लागि मेरो उम्मेदवारी हो।
प्रज्वल विष्ट
एमए्सी पहिलो वर्ष, नेपाल विद्यार्थी संघ
अहिले देशभरकै विद्यार्थीहरू विदेशिने क्रम बढेको छ। यसलाई तोड्न हामीले प्रतिबद्धतासहित आफ्नो घोषणापत्र अगाडि सारेका छौं। क्याम्पसमा सुधार गर्ने, विद्यार्थीको समस्या समाधान गर्ने हाम्रो उद्देश्य हो। पाठ्यपुस्तक, कार्यशाला, इन्टर्नमा केही समस्या पर्नासाथ सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध छौं।
