‘माथिल्लो तहमा पुग्नेहरुले क्याम्पस विकासमा सघाएनन्’
विराटनगर। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलले भौतिक पूर्वाधार बनाउने प्रयास भए पनि त्यसमा सफलता हासिल नभएको बताएका छन्।
२०८९ मा भएको स्ववियु निर्वाचनका बेला छात्रावास सञ्चालनमा ल्याउने प्रतिवद्धता गरेर मतदाता माझ उनी गएका थिए। दुई वर्षको कार्यकालमा उनले भनेअनुसार छात्रावास सञ्चालनमा भने ल्याउन सकेनन्।
उनले विद्युतीय पुस्तकालय बनाउन बाचा पनि गरेका थिए। उनको यो बाचा पनि पूरा हुन सकेन। अहिले स्ववियु निर्वाचनको चहलपहल छ। यो निर्वाचनमा पनि उम्मेदवार बनेकाहरुले विद्यार्थी हक, हित र सुविधाका लागि विभिन्न काम गर्ने भन्दै प्रतिबद्धता जनाइरहेका छन्।
सभापति पौडेलले केही शैक्षिक सुधारको प्रयास भने गरेका छन्। शिक्षकले कक्षा कोठामा पढाउनुअघि र पढाएपछि विद्युतीय हाजिरी गर्ने व्यवस्था गरिएको छ। शुद्ध पिउने पानी र बाटो बनेको छ। त्यसबाहेक अन्य कतिपय योजना पूरा गर्न नसकेको पौडेलले स्वीकारेका छन्।
खासगरी बजेट नहुँदा सोचेजस्तो काम गर्न नसकेको उनको भनाइ छ। यही क्याम्पसमा अध्ययन गरेर माथिल्लो तहमा पुगेकाहरु धेरै भए पनि कसैले सहयोग नगरेको पौडेल बताउँछन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायत धेरै व्यक्तिहरु सरकार र अरु निकायको उच्च तहमा पुगे पनि क्याम्पसको विकास र सुधारका लागि केही गर्न नसकेको उनको गुनासो छ।
निवर्तमान हुन लागेका स्ववियु सभापति पौडेलले आफ्नो संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) सभापतिमा बीएस्सी प्रथम समेटेर अध्ययनरत प्रज्वल विष्टलाई अघि सारेका छन्। उनी पार्टीको संस्थापन पक्ष निकट हुन्।
शेखर कोइराला समूह नजिक मानिएका योगराज दाहाल सहितको समूहले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
