किन बेग्लाबेग्लै दिन मनाइन्छ होली?
विराटनगर। यो वर्षको होली पर्व हिजो बिहीबार हिमाल, पहाड र काठमाडौं उपत्यका अनि आज शुक्रबार तराई मधेसमा मनाइएको छ। किन भूगोल अनुसार फरक फरक दिन मनाइन्छ होली? यसको के कारण छ? यसबारे महेन्द्र मोरङ क्याम्पस, मानविकी संकायअन्तर्गत नेपाली तथा पत्रकारिता विभागका प्रमुख यमनाथ पौडेलसँग कुराकानी गरेका छौं ।
प्रस्तुत छ, उनको भनाइ जस्ताको तस्तै–
भूगोल अनुसार किन फरक दिनमा होली मनाउने कारण सांस्कृतिक र ऐतिहासिक भिन्नतामा आधारित छ। पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाको दिन होली मनाइन्छ भने तराईमा त्यसको भोलिपल्ट रङ खेल्ने परम्परा छ। यसले स्थानीय परम्परा र चाड पर्वको विशेषतालाई दर्शाउँछ। पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली मनाउने परम्परा छ। यसबारे धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। यस दिनको विशेष महत्व छ, जसले वसन्त ऋतुको आगमन र असत्यमाथि सत्यको विजयको प्रतीकको प्रतिनिधित्व गर्छ।
होलीको अघिल्लो दिन होलिका दहन गरिन्छ। यसले असत्यको प्रतीक होलिकाको दहनलाई सम्झाउँछ। यस दिनको खुसियालीमा भोलिपल्ट रङ खेल्ने परम्परा तराईमा विकसित भएको छ।
मिथिला संस्कृतिको प्रभावले गर्दा तराई क्षेत्रको मिथिला संस्कृतिमा फागु पूर्णिमाको दिन विशेष मेला लाग्ने परम्परा छ। यसकारण भोलिपल्ट होली मनाउने चलन बसेको हो।
पहाडी क्षेत्रका जात्राहरूको कारण पनि भोलिपल्ट मनाउने चलनको विकास भएको हुनसक्छ। जात्रामा व्यस्तता र चाडपर्वको विशेषता अनुसार भोलिपल्ट रङ खेल्ने परम्परा स्थापित भएको छ।
राणाकालीन समयमा एकै दिन होली पर्व मनाइन्थ्यो भने पञ्चायत कालमा आएर फरक दिन मनाउने परिपाटीको विकास भएको छ। त्यस अनुसार नै सार्वजनिक विदा दिने थालनी भएको छ।
होली पर्व मनाउने तरिका पनि पहिलेभन्दा अचेल फरक छ। पाँच दशक अघिसम्म होली पर्व मनाउने परम्परा धार्मिक भावना र संस्थागत रूपमा मनाइने गरिन्थ्यो। उहिले होलीका दहन गरी मनाइने गरिन्थ्यो। तर अहिले त त्यस्तो सामूहिक रूपमा उति देखिँदैन।
भारत, उत्तर प्रदेशको मधुरा, वृन्दावनमा रहेको बृजभूमिमा ४० दिनसम्म होली पर्व चल्छ, जसको सुरुवात बसन्त पञ्चमीबाट हुन्छ र रङ्ग पञ्चमीमा समाप्त हुन्छ। त्यही देखेर नेपालमा पनि होली खेल्न थालिएपछि यो पर्व विशेष महत्वका साथ मनाउने गरिएको हो। परम्परा अनुसार अर्कासँग मिल्न र खुसी मनाउन प्रेरित गरिन्थ्यो। पहिले भजन गाएर मनाइन्थ्यो। होली पर्वले समाजमा एकता र सद्भावको सन्देश दिन्छ। यस पर्वमा सबै वर्ग, जात, धर्मका मानिसहरू एकै ठाउँमा भेला भएर रङ खेल्छन्, जसले पुरानो कटुता समाप्त गर्न मद्दत गर्छ। तर अहिले तास खेलेर, रक्सी खाएर, अश्लील गीतमा नाच गान गरी मनाइन थालेको छ।
पहिले बेसारमा चुना हालेर शुद्ध रंग बानाई होली पर्व मनाइन्थ्यो। अहिले छालालाई असर पर्ने गरी हानिकारक केमिकल र रङमा होली खेलिन्छ। अहिले होली मनाउनु भनेको जाँड खानु, होहल्ल गर्नु नै बुझिन्छ। अहिले होली पर्वमा विकृति मौलाउँदै गएको छ।
होली पर्व मनाउनु आफैंमा राम्रो हो तर अहिलेको मनाउने तरिका विकृतियुक्त भएकाले यो ठीक छैन। अब दाइजो प्रथा कसरी थालनी भयो भने पहिला बाल विवाह हुने गर्थ्यो। छोरीलाई आर्थिक सुरक्षाको स्वरूप दाइजो दिन्थ्यो। तर अहिले आएर यसले पनि विकृतिको रूप लिएको छ। यसरी नै होली पनि सामाजिक धार्मिक भावना, खानपिन आफन्त भेटघाटकै लागि सुरु भएको थियो तर अहिले सामाजिक विकृतिले यसको महत्वलाई घटाउँदै गइरहेको छ।
