रहेनन् ‘बसाइँ’ उपन्यासका सर्जक लीलबहादुर क्षेत्री
विराटनगर। चर्चित एवं लोकप्रिय उपन्यास ‘बसाइँ’ का सर्जक साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ। भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो।
‘बसाइँ’, ‘अतृप्त’ र ‘बह्मपुत्रको छेउछाउ’, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ जस्ता कृतिका सर्जक क्षेत्रीले साहित्यका विभिन्न विधामा काम गरेका छन्। नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित सर्जक हुन्।
भाषा, साहित्यमा गरेको योगदानको कदर गर्दै भारत सरकारले क्षेत्रीलाई सर्वाेच्च नागरिक पुरस्कार ‘पद्मश्री’ बाट सम्मान गरेको थियो।
यसैगरी, ‘मदन स्मारक व्याख्यानमाला सम्मान’, ‘वेदनिधि पुरस्कार’, ‘अगम स्मृति पुरस्कार’, ‘असम नेपाली साहित्य सभा पुरस्कार’, ‘नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार’, ‘पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार’, ‘हरिभक्त कटुवाल स्मृति पुरस्कार’, ‘बसुन्धराश्री’ लगायत पुरस्कार प्राप्त गरेका छन्।
भारतको असममा १९८९ सालमा जन्मिएका उनको ‘अतृप्त’, ‘प्रतिध्वनिहरु विस्मृतिका’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायत आख्यान र गैरख्यान प्रकाशित छन्। उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीका श्रीमती, दुई छोरा र छोरी छन्।
क्षेत्रीको सर्वाधिक चर्चित ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको थियो। यसको कथामा चलचित्र पनि बनाइएको छ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत् श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा समवेदना व्यक्त गरेका छन्।
उनले लेखेका छन्–
लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो। उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन्। भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’ बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’ उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ।

