शिक्षक आन्दोलन जारी, दोस्रो चरणको कार्यक्रम तय गरिँदै

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षकहरुले आन्दोलन जारी राख्ने भएका छन्। शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनको अब अर्को चरणका कार्यक्रम गरिने भएको हो।

महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले बताए। सोमबार बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरिने उनको भनाइ छ।

उनले भने, ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं’ सुबेदीले भने। शनिबार पहिलो चरणको आन्दोलन सकिएको उनले बताए।

२०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ।

पुस २९ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गर्ने भनिएको छ।

यो प्रावधानले २०७५ देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको तर्क छ। सरकारले अध्यादेश आएको मितिबाट लागू हुने बताए पनि यसमा शिक्षकहरूले मानेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *